सत्तारुढ नेकपा एमालेले आज काठमाडौंमा जागरण सभामार्फत् ‘शक्ति प्रदर्शन’ गर्दैछ । यसको अर्थ के हो ? यतिबेला आम मानिसले चासो राखिरहेका छन् ।
नेकपा एमालेले भने देशमा केही भएको छैन भन्ने जबरजस्ती भाष्य बनाउँदै अराजकतावादीले निरासा छर्न खोजेको ठहरसहित सुशासन, मुलुकको समृद्धि र सुदृढ लोकतन्त्रको सन्देशका लागि कार्यक्रम आयोजना गरिएको दावी गरिरहेको छ ।
एमाले उपमहासचिव प्रदीप ज्ञवाली लोकतन्त्र असान्दर्भिक भयो कि भन्नेका विरुद्ध जागरण अभियान भएको बताउँछन् । देश बन्दैछ, हामी बनाउँछौं भन्ने सन्देश जनतालाई दिनुपर्ने सरकारमा हुने दलहरूको जिम्मेवारी भएको उनको भनाइ छ ।
कस्तो छ तयारी ?
एमालेले जागरण सभामा कार्यकर्ता र समर्थक गरी एक लाख उतार्ने लक्ष्य लिएको छ ।
भद्रकालीबाट सुरू हुने जुलुस, न्युरोड गेट, वीर अस्पताल, रत्नपार्क घुमेर दरबारमार्गको सडकमा सभामा परिणत हुनेछ ।
जुलुस साढे ११ बजेबाट सुरू भई १२ बजे सभामा परिणत हुनेछ । सभाका प्रमुख वक्ता पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली छन् ।
सत्ताधारी दल नै सडकमा गएर देखाउन खोजेको के हो ? एमालेले आज सभा मार्फत नै पुष्टि गर्नुपर्नेछ ।