२०८२, ३१ असार मंगलबार | Wed Jul 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

झापाबाट एघार करोडको चिया निर्यात



नेपाल बहुउद्देश्यीय सहकारी संस्था एनएमसीले रु ११ करोड ४३ लाख ६१ हजार बराबरको चिया भारत निर्यात गरेको छ । संस्थाले तीन लाख ६४ हजार ४४ केजी तयारी चिया निर्यातबाट उक्त रकम आर्जन गरेको हो ।

‘गुणस्तरीय चिया उत्पादनमा जोड दिइरहेका छौँ । चियाखेती गर्ने किसान हाम्रो सहकारीका सदस्य हुनुहुन्छ । चियाखेती किसानहरूले गर्नुहुन्छ, हामी पत्ती किनेर तयारी चिया उत्पादन गर्छौं ।’, संस्थाका व्यवसाय प्रमुख रवीन्द्र पाण्डेले भने ।

इलामको सूर्योदय–१, माइजोगमाई–१ र झापाको मेचीनगर–५ मा संस्थाले तीनवटा चिया प्रशोधन कारखाना सञ्चालनमा ल्याएको छ । इलाममा उत्पादित चियालाई उपभोक्ताले रुचाएकाले त्यहाँ उत्पादित हरियोपत्ती संस्थाले खरिद गर्दै आएको छ । संस्थामा तीन सय ५० जना चिया किसान आबद्ध रहेका र चिया व्यवसायमा रु १३ करोड लगानी भएको उनले बताए ।

संस्थाको चिया व्यवसायमा ५२ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । संस्थाले ‘एनएमसी’ ब्रान्डमा ब्ल्याक टी, अर्थोडक्स टी र ग्रीन टी उत्पादन गर्दै आएको छ । उत्पादित चियामध्ये १० प्रतिशत स्वदेशमा खपत हुने र बाँकी निर्यात हुँदै आएको छ ।

बचत तथा ऋण कारोबार, कृषि फार्म, डेरी उद्योग र सहकारी ‘सुपर मार्केट’ सञ्चालन गरिरहेको उक्त संस्थाले किसानबाट सोझै चियापत्ती खरिद गरेपछि उनीहरू लाभान्वित भएका छन् । उनीहरूले अघिल्लो महिनाको भुक्तानी सहज रूपमा हरेक महिनाको १५ गते पाउने गरेका छन् ।

प्रकाशित मिति : २०८१, ७ मंसिर शुक्रबार ००:००  ११ : ४६ बजे