बाराको पचरौता नगरपालिका २ का वडाध्यक्ष मनोज यादवलाई प्रहरीले शुक्रबार बेलुका पक्राउ गरेको छ । अंगभंग तथा कुटपिट मुद्धामा अनुसन्धान गर्न प्रहरीले यादवलाई कलैयाबाट पक्राउ गरेको हो ।
बाराका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता प्रकाश सापकोटाले वडाध्यक्ष यादवलाई पक्राउ गरिएको पुष्टि गरे । कुटपिट तथा अंगभंगको मुद्धामा अनुसन्धान गर्न पक्राउ गरिएको प्रवक्ता सापकोटाले बताए ।
वडाध्यक्ष यादवमाथि स्थानीय मुन्नाकुमार साहसहितका व्यक्तिलाई कुटपिट गरेको आरोप छ । केही महिना अघि भएको उक्त घटनामा वडाध्यक्ष यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय बाराले जाहेरी नलिएपछि साहले उच्च अदालत वीरगन्जमा रिट दायर गरेका थिए ।
साहको रिटमा उच्च अदालतले वडाध्यक्ष यादवमाथि मुद्धा दर्ता गरी अनुसन्धान गर्न परमादेश जारी गरेको थियो । अदालतको परमादेशपछि प्रहरीले यादवलाई पक्राउ गरेको हो ।