योजनाको सफल कार्यान्वयनसँगै स्थानीय नागरिकलाई सहजरुपमा सेवा दिने लक्ष्यले भोजपुरको षडानन्द नगरपालिकाले वडास्तरमै योजना सम्झौता र उपभोक्ता अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । भौगोलिक विकटकता कारण सेवा लिन नगरपालिकासम्म आउँदाको समस्यालाई ध्यानमा राख्दै नागरिकको घरदैलोमा पुगेर योजना सम्झौता गरेको हो ।
नगरपालिकाले अभियान नै सञ्चालन गरेर वडास्तरमा पुगेर योजना सम्झौता, बैङ्कसम्बन्धी सेवासँगै योजनाको सफल कार्यान्वयनका लागि गर्नुपर्ने काम, योजना सञ्चालन पद्धति, योजनाको गुणस्तरियता, योजनाको प्रभावकारीतालगायतको विषयमा अभिमुखीकरण कार्यक्रमसमेत सञ्चालन गरेको षडानन्द नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद चापागाईंले बताउनुभयो ।
भौगोलिक विकटताका कारण स्थानीयले भोगेका समस्यालाई ध्यानमा राख्दै नगरपालिकाको सेवा वडास्तरबाट सञ्चालन गरिएको उहाँको भनाइ छ । अभियानमार्फत १४ वडामध्ये भौगोलिकरुपमा अति नै विकट रहेका नौवटा वडाका नागरिकलाई वडास्तरबाट सेवा प्रवाह गरिएको प्रमुख प्रशासकीय अधिकृत चापागाईंले बताउनुभयो ।
“स्थानीय सरकारबाट प्रवाह हुने सेवालाई सहज, सरल रुपमा नागरिकसम्म पु¥याउन विभिन्न गतिविधि गरिरहेका छौँ,” प्रशासकीय अधिकृत चापागाईंले भन्नुभयो, “भौगोलिक विकटताका कारण कतिपय वडाबाट नागरिकलाई सेवा लिन नगरसम्म आउन समस्या छ । त्यो समस्यालाई ध्यानमा राखेर अभियान नै सञ्चालन गरेर नागरिकलाई घरदैलोमा सेवा पु¥याउन जुटेका छौँ ।”
नगरपालिकाबाट सञ्चालन हुने योजनालाई समयभित्र नै प्रभावकारी ढङ्गले सम्पन्न गराउने लक्ष्यका साथ कामलाई अघि बढाएको उहाँको भनाइ छ । त्यसका लागि नगरपालिकाले अनुगमनसँगै कार्यान्वयनको पाटोलाई कडाइका साथ अघि बढाउने उहाँले बताउनुभयो । “योजनाको कामलाई गुणस्तरीय ढङ्गले समयमा सम्पन्न गराउने लक्ष्यका साथ काम गरिरहेका छौँ,” प्रशासकीय अधिकृत चापागाईंले भन्नुभयो, “हामीले सम्झौताका क्रममा नै यो विषयमा उपभोक्ता समितिलाई सजकसमेत गराएका छौँ ।”
वडास्तरमा योजना सम्झौता तथा आवश्यक काम गर्ने लक्ष्यले नगरपालिकाले सञ्चालन गरेको अभियान प्रभावकारी रहेको षडानन्द–१४ बोयाका मानबहादुर तामाङले बताउनुभयो । वडामा नै योजना सम्झौतालगायत काम भएपछि समय र पैसाको बचत भएको उहाँको भनाइ छ । भौगोलिक विकटताका कारण आफ्नो ठाउँबाट योजना सम्झौता गर्न जाँदा एक उपभोक्ता समितिको न्यूनतम पनि रु आठदेखि दश हजारसम्म खर्च हुने तामाङको भनाइ छ ।
“नगरपालिकाले सञ्चालन गरेको यो अभियानले हामीलाई धेरै सहज भएको छ,” उहाँले भन्नुभयो, “भौगोलिक रुपमा दुर्गम भएकाले हाम्रो ठाउँबाट योजना सम्झौता गर्नका लागि नगरपालिका जाँदा नै एकदेखि दुई दिन बित्छ । आउँदा, जाँदा, बस्दा समितिको धेरै नै खर्च हुन्थ्यो । तर अहिले वडामा नै योजना सम्झौता हुँदा हामीलाई सहज भएको छ ।” नगरपालिकाले वडास्तरमा पुगेर सेवा प्रवाह गरेपछि दुर्गम क्षेत्रका नागरिकलाई प्रत्यक्ष लाभ पुगेको तामाङले बताउनुभयो ।
नागरिकलाई प्रदान गर्ने सेवालाई सहज बनाउँदै सञ्चालन हुने योजनाहरुलाई प्रभावकारी र गुणस्तरीय बनाउने उद्देश्यले वडास्तरमा पुगेर नगरपालिकाको सेवालाई प्रवाह गरिएको षडानन्द नगरपालिका उप–प्रमुख प्रमिला राईले बताउनुभयो । यो नगर भौगोलिक रुपमा ठूलो र कतिपय स्थान विकट रहेकाले स्थानीय सरकारको सेवालाई नागरिकको पहुँचसम्म विस्तार गरेर सञ्चालित योजनाको प्रभावकारिता र गुणस्तरीयता वृद्धि गर्नका लागि वडास्तरबाट नै योजना सम्झौता र उपभोक्ता अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको उहाँको भनाइ छ ।
“नगरको सेवालाई सहज बनाउन भौगोलिक रुपमा विकट रहेका स्थानका वडा–वडाबाट योजना सम्झौता गरेका छौँ,” उपप्रमुख राईले भन्नुभयो, “नागरिकलाई योजना सम्झौता गर्न आउँदा, जाँदा बढी समयसँगै खर्च हुने भएकाले हामीले घरदैलोमा नै सेवा पु¥याउने कोसिस गरेका हौँ । अभियानमार्फत योजना सञ्चालन पद्धतिका विषयमा पनि जानकारी दिइएकाले गुणस्तरीयतासमेत बढ्ने अपेक्षा लिएका छौँ ।”
स्थानीयवासीलाई भौगोलिक विकटताका कारण नगरपालिका केन्द्र दिङ्लासम्म आउँदा भोग्नुपर्ने समस्यालाई ध्यानमा राखेर वडास्तरबाट सेवा प्रदान गरिएको नगरपालिका प्रमुख सुरेन्द्रकुमार उदासले बताउनुभयो । स्थानीयलाई सहज सेवा प्रदान गर्न अभियान सञ्चालन गरिएको उहाँको भनाइ छ । भावी दिनमासमेत नगरको सेवालाई थप सहज बनाउने लक्ष्य रहेको प्रमुख उदासले बताउनुभयो ।
“हाम्रो नगरमा भौगोलिक रुपमा विकट वडाहरु पनि छन्,” प्रमुख उदासले भन्नुभयो, “त्यहाँका नागरिकलाई नगरपालिका आएर योजना सम्झौता तथा अन्य सेवा लिन निकै समस्या छ । घण्टौँ लगाएर सेवा लिन आउँदा उनीहरुको समयसँगै हजारौँ रुपैयाँ खर्च हुन्छ । जनताका समस्यालाई ध्यानमा राख्दै अभियान सञ्चालन गरेर वडास्तरबाट सेवा प्रदान गरेका हौँ । जनतालाई दिने सेवालाई सहज र सरल बनाउने लक्ष्यका साथ काम गरिरहेका छौँ । यसले योजनाको प्रभावकारिता बढ्नेछ ।”
नगरपालिकाको सेवा वडाबाट सञ्चालन हुँदा स्थानीयलाई सहज भएको वडा नं १० का अध्यक्ष पेमदोर्ची शेर्पाले बताउनुभयो । उपभोक्ता समितिलाई योजनाको सम्झौता तथा अन्य कामका लागि नगरपालिका केन्द्र दिङ्ला पुग्न समस्या हुने गरेको अवस्थामा अभियानमार्फत गरिएको कामले प्रत्यक्ष लाभ पुगेको उहाँको भनाइ छ । “यहाँबाट नगरपालिका केन्द्र दिङ्ला पुग्न धेरै समय लाग्छ,” वडाध्यक्ष शेर्पाले भन्नुभयो, “स्थानीयले सहज सेवाको माग गरिरहेका थिए । अभियानमार्फत वडाबाट नै नगरको सेवा दिन पाउँदा खुसी लागेको छ । यसले स्थानीयलाई धेरै सहज भएको छ ।”
नगरपालिकाले भौगोलिक रुपमा विकट रहेका वडा नं १ नेपाल डाँडा, वडा नं २ कुदाकाउले, वडा नं ३ खार्ताम्छा, वडा नं ९ किमालुङ, वडा नं १० सम्पाङ वडा नं ११ र १२ देउराली, वडा नं १३ र १४ बोयामा वडास्तरमा पुगेर योजना सम्झौता गरेको हो । नगरपालिका नजिक रहेका वडा नं ४ र ५ मूलपानी, वडा नं ६ र ७ केउरेनीपानी र वडा नं ८ तुङ्गेछाका उपभोक्ता समितिको भने नगरपालिकाबाट नै योजना सम्झौता हुने बताइएको छ ।