२०८१, २८ फाल्गुन बुधबार | Wed Mar 12 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लिखुका नागरिकले खिजीबाट प्रशासनिक सेवा पाउने



ओखलढुंगाको गाम्नाङटार, पोकली र टारकेराबारीका नागरिकले प्रशासनिक सेवा इलाका प्रशासन कार्यालय खिजीफलाटेबाट पाउने भएका छन् । यसअघि नागरिकता, पासपोर्ट, परिचयपत्रसहितका प्रशासनिक सेवाका लागि सदरमुकाम धाउनबाध्य यसक्षेत्रका नागरिकले अब नजिकैको इलाका प्रशासन कार्यालय खिजीफलाटेबाट सेवा पाउने भएका हुन् ।

शुक्रबार गृहमन्त्रालयले ओखलढुंगाको लिखु गाउँपालिकाको वडा नम्बर ६, ७, ८ र ९ का नागरिकलाई ईलाका प्रशासन कार्यालय खिजीफलाटेबाट सेवा दिने निर्णय गरेको हो । मन्त्री स्तरीय निर्णयपछि अब त्यस क्षेत्रका नागरिकलाई सहज हुने ओखलढुंगाका सांसद तथा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले बताए । नजिकै इलाका प्रशासन भएपनि सेवा क्षेत्रभित्र नपर्दा सदरमुकाम धाउनुपर्ने स्थानीय नागरिकको समस्या समाधान गर्न आफैंले गृहमन्त्री स्तरको निर्णय गराएको खतिवडाको भनाई छ ।

भौगोलिक विकटताका कारण सदरमुकाम जाँदा आउँदा समय र खर्च बढी लाग्ने अवस्था थियो । त्यसको तुलनामा खिजी फलाटे जान आउन नजिक र निकै सहज छ ।

जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने लिखु र खिजीदेम्बाका नागरिकहरु विगतमा सामान्य प्रशासनिक सेवा लिन रामेछाप मन्थली, सिन्धुली खुर्कोट, उदयपुर घुर्मी घुमेर सदरमुकाम ओखलढुंगा पुग्नुपर्ने बाध्यता थियो । ३ जिल्ला घुमेर जिल्ला सदरमुकाम पुगेर सेवा लिएर फर्किँदा ३ दिनसम्म समय लाग्ने अवस्था थियो ।

पछिल्लो समय जिल्ला भित्र सडक सञ्जाल विस्तार भएर केही सहज भएपनि सेवाका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता अन्त्य भएको थिएन ।

२०७३ सालमा खिजीफलाटेमा इलाका प्रशासन कार्यालय स्थापना पछि यस क्षेत्रका स्थानीयलाई सहज भएको छ । इलाका प्रशासनबाट खिजीदेम्बा गाउँपालिका भित्र पर्ने साविकको भुसिङ्गा, रावादोलु, खिजीकाती, खिजीफलाटे, खिजीचण्डेश्वरी र रगनीका नागरिकले सेवा लिइरहेका थिए । अब लिखु गाउँपालिकाको गाम्नाङटार, टारकेराबासी र पोकलीका सेवाग्राहीले समेत सेवा लिन पाउने भएका छन् । इलाका प्रशासनबाटै सेवा लिन व्यवस्थाका लागि लिखुका स्थानीयले माग गरेका थिए ।

प्रकाशित मिति : २०८१, २ फाल्गुन शुक्रबार ००:००  १ : ३६ बजे