‘२१५२ सिङ मो डुल लो ग्याल्पो लोसार’ को तेस्रो दिन ल्हाक्पा र्याली सम्पन्न भएको छ । हिमालयन शेर्पा सांस्कृतिक केन्द्रको अगुवाईमा र्याली सम्पन्न भएको हो ।
ग्याल्पो लोसार अन्तर्गतको विभिन्न कार्यक्रम मध्ये बार्षिक रुपमा र्याली आयोजना गर्ने कार्यक्रम अनुसार शेर्पा गुम्बाबाट र्याली शुरु गरी सोही स्थानमा आएर समापन गरिएको केन्द्रका अध्यक्ष आङ डोमा शेर्पाले जानकारी दिए ।
लोसार सांस्कृतिक पैदल र्याली फागुन १८ गते (आज) बिहान ८ बजेबाट शुरु भएर ११ बजे सम्पन्न भएको आयोजकले जनाएको छ । शेर्पा सेवा केन्द्र (शेर्पा गुम्बा) टुशालबाट सुरु भएको र्याली चाबहिल, चरुमती बिहार, महाङ्काल, तीनचुली, फुलबारी बौद्ध हुँदै पुनः शेर्पा गम्बामा आई समापन भएको कार्यक्रम संयोजक दावा छिरी शेर्पाले जानकारी दिए । र्यालीमा विभिन्न शेर्पा संघ–संस्था, किदुग, बौद्धमार्गीहरू आफ्नो ब्यानर, परम्परागत पोशाक र सांस्कृतिक नृत्य सहित सहभागी भएका थिए ।
विभिन्न नारा, सांस्कृतिक नृत्य, मौलिक बाजागाजासहित शहर परिक्रममा गर्दै लोसार र्याली सम्पन्न भएपश्चात ल्हाप्सो पूजा शुरु भएको शेर्पा सेवा केन्द्रले जनाएको छ ।
