नेपाली कांग्रेसका नेता डा. केदारनरसिंह केसीले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले सार्वजनिक जग्गासँग नाम जोडेर आफ्नो चरित्रहत्या गर्न खोजेको आरोप लगाएका छन्। उनले आज पत्रकार सम्मेलन गरी गत फागुन २८ मा प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदद्वय शिशिर खनाल र सुमना श्रेष्ठले दिएको अभिव्यक्ति राजनीतिक पूर्वाग्रहका साथ आएको बताएका हुन्।
‘साबिक मनमैँजु गाविस वडा नं ९ हाल तारकेश्वर नगरपालिका वडा नं १० लोकतान्त्रिक चोकमा रहेको कित्ता नं ६१ र ६२ मेरो तथा मेरो परिवारका नाममा र कित्ता नं ६३ सार्वजनिक जग्गा हो, मलाई सरकारी जग्गा एक कित्ता पनि चाहिँदैन, मेरो चरित्रहत्या गर्ने मनसायका साथ संसदमा आवाज उठाउँदा म दुःखित भएको छु,’ डा. केसीले भने।
उनले संसद्को अभिव्यक्तिले आफ्नो राजनीतिक चरित्रहत्या भएको भन्दै कानुनी उपचारमा जानेसमेत स्पष्ट पारे। डा. केसीले आधार र प्रमाणविना कपोलकल्पित र भ्रमपूर्ण प्रश्न संसदमा उठ्नु गलत भएकोसमेत बताए।