रक्षामन्त्री मानवीर राईले सरकारले राष्ट्रिय गौरवका आयोजनाअन्तर्गत भौतिक पूर्वाधार विकासको कामलाई तीव्रताका साथ अगाडि बढाइरहेको बताएका छन् । ‘राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन मूल्याङ्कन समिति’को आजको बैठकमा सांसदहरुले राखेको जिज्ञासाको जवाफ दिँदै उनले राष्ट्रिय गौरवका आयोजनालाई पुनःविचार गर्दै काममा तिव्रता दिइएको बताएका हुन् ।
मन्त्री राईले भने, ‘राष्ट्रिय गौरवका आयोजनामा पुनःविचार गर्नुपर्ने छ, अलिकति अध्ययन गरेर घटाउनुपर्ने वा बढाउर्नेबारे विचार गर्नुपर्ने छ, थुप्रै आयोजना घोषणा गर्ने तर काम नहुने हुुनु हुँदैन, यही हाम्रो आर्थिक अवस्थाले थाम्दैन भने घोषणा मात्रै गरेर के गर्ने ? सक्ने मात्रै गर्ने मेरो पनि मत छ ।’सङ्खुवासभाको किमाथाङ्काको बाटो ‘ब्रेक थ्रु’ भइसकेको जनाउँदै चीन सरकारको सहयोगमा सो बाटो कालोपत्र गर्ने काम भइरहेको मन्त्री राईले जानकारी गराए । उनले आलाङ्चुङगोलामा बाटोको काम अगाडि बढाउने योजना रहेको बताएका छन् ।
मन्त्री राईले जातीय आधारमा भन्दा पनि गरिबीका आधारमा सरकारले प्राथमिकता दिनुपर्ने बताए । ‘गरिबीको अवस्थाका आधारमा सेवा सुविधा दिने हो भने, यो जात वा त्यो जात भनिरहनु पर्दैन, सबैभन्दा गरिब जो छ, उसलाई प्राथमिकता दिनुपर्छ, कतिपय दलित उत्पीडित ब्राह्मणभन्दा धनी छन्, तर दलित भएरै विभिन्न सेवासुविधा लिइरहेका छन, अहिले पनि एकजना ब्राह्मणको अवस्था दलितको भन्दा धेरै तल छ ।’ यसको दिगो समाधान भनेको गरिबीको परिचय पत्र नै भएको उनको भनाइ छ ।