पर्वतको फलेवास नगरपालिकामा आमा–बा स्वास्थ्य कार्यक्रम सञ्चालन गरिएको छ । ग्रामीण क्षेत्रमा रहेका ज्येष्ठ नागरिक, वृद्धवृद्धाको नियमित स्वास्थ्य परीक्षण गर्ने, विभिन्न रोगको सङ्क्रमणबाट बचाउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।
वृद्धवृद्धाहरूको रक्तचाप, मधुमेह, मुटु, मृगौला रोगको परीक्षण, रगत, दिसा, पिसाव, खकारलगायत जाँच, पोषण अवस्थाको लेखाजोखा, अन्य रोगको उपचार, परामर्श तथा सल्लाह दिनुका साथै गम्भीर स्वास्थ्य अवस्था देखिएकालाई उपचारका लागि अस्पताल पठाउन यो कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।
गत शुक्रबारदेखि वडा नं १ कार्कीनेटबाट सुरुआत भएको कार्यक्रम ११ वटै वडामा सञ्चालन हुने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रुद्र सापकोटाले जानकारी दिए । चिकित्सकसहित स्वास्थ्यकर्मी नगरका सबै घरमा पुग्ने भएका छन् ।
वृद्धवृद्धाको नियमित स्वास्थ्य परीक्षण, दीर्घकालीन रोगीले उपचार तथा निदानका विकल्पसम्बन्धी परामर्श दिँदै औषधिको मात्रा, उपभोग्य मिति, उपभोग गर्ने समयलगायत जानकारी गराइने छ ।
हरेक छ÷छ महिनामा नियमित स्वास्थ्य परीक्षणका लागि यो अभियान थालिने नगरप्रमुख गङ्गाधर तिवारीले जानकारी दिए । उना अनुसार ज्येष्ठ नागरिकसँगै ३० वर्षभन्दा माथिका सबै नागरिकको स्वास्थ्य परीक्षण गरिनेछ ।
उपचारका क्रममा निःशुल्क औषधिसमेत वितरण गरिनुका साथै जटिल रोग लागेका बिरामीलाई नगरपालिकाकै एम्बुलेन्समार्फत अस्पतालसम्म पु¥याउने व्यवस्थासमेत गरिने छ ।
नगरका अधिकांश वडामा रहेका स्वास्थ्य चौकीमा अहेबका भरमा सञ्चालित छन् । सरकारले निःशुल्क ९८ प्रकारका औषधि वितरण गर्ने भनिए पनि ४० प्रकारका औषधिमात्र स्वास्थ्य संस्थामार्फत वितरण हुने गरेको स्वास्थ्यकर्मीहरूले बताएका छन् ।
वडाबाट प्रभावकारी स्वास्थ्य सेवा प्रवाह नभइरहेका बेला चिकित्सकसहितको टोली घरघर र टोलटोलमा पुगेर ज्येष्ठ नागरिकसहित ३० वर्षमाथिका सबैको स्वास्थ्य परीक्षण गर्ने कार्यक्रमले नगरवासीलाई स्वास्थ राख्न मद्दत पुग्ने छ ।