२०८२, ७ असार शनिबार | Sat Jun 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रिय युवा उद्यमी सञ्जाल गठन, अध्यक्षमा सुशील पराजुली सर्वसम्मत



राष्ट्रिय युवा उद्यमी सञ्जाल गठन भएको छ । नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको राष्ट्रिय युवा परिषद्ले देशभरका युवा व्यवसायीहरूलाई एउटै संरचनामा ल्याउने, युवा उद्यमशीलता प्रवद्र्धन गर्ने र नीति निर्माणमा युवाको सहभागिता सुनिश्चित गर्ने उद्देश्यसहित सञ्जाल गठन गरेको हो ।

नवगठित सञ्जालको अध्यक्षमा सुशील पराजुली सर्वसम्मतरूपमा चयन भएका छन् । इ–कमर्स व्यवसायमा लामो अनुभव भएका पराजुली भिडियो प्रोडक्सन कम्पनी Cinereels Production का संस्थापक तथा युवा डिजिटल मार्केटिङ अभियन्ताका रूपमा परिचित छन् ।

अध्यक्षमा चयन भएपछि पराजुलीले व्यवसायलाई राष्ट्र निर्माणको आधार मानेर देशभित्रै अवसर सिर्जना गर्ने अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् । ‘व्यवसाय केवल पैसा कमाउने माध्यम होइन, यो राष्ट्र निर्माणको बलियो खम्बा हो । अब समय आएको छ, हामी युवा नीति निर्माण तहमा पुगेर देश निर्माणको नेतृत्व गर्नुपर्छ ।’ अध्यक्ष पराजुलीले अनलाइन सरोकारसँग भने, ‘राष्ट्रिय युवा उद्यमी सञ्जालमा देशभरका युवा समेटेर रचनात्मक काम गर्छौं ।’ उद्यमशिलता प्रवद्र्धनका लागि देशभर अभियान चलाउने उनको योजना छ ।

सञ्जालको उपाध्यक्षमा राजकुमार अधिकारी, मनिष जङ्ग शाही र सुदीप राज पुरी चयन भएका छन् । अधिकारी इ–कमर्स क्षेत्रमा, शाही होटल तथा होस्टल व्यवसायमा र पुरी शैक्षिक परामर्श, भाषा प्रशिक्षण तथा ट्राभल व्यवसायमा संलग्न छन् ।

सचिवमा आदर्श दाहाल, सह–सचिवमा अनुज धिताल, कोषाध्यक्षमा सर्मीला खनाल र सह–कोषाध्यक्षमा सुरेन्द्र अधिकारी चयन भएका छन् । सञ्जालको सदस्यमा शंकर खनाल, राज तामाङ, सन्दीप केसी, इन्दिरा लोहनी, सुरेन्द्र गुरुङ, रविन शाह, सुदीपराज पुरी, रेसम कट्वाल, कल्पना बराल चयन भएका छन् ।

युवा उद्यमी सञ्जाल गठन समारोहमा राष्ट्रिय युवा परिषदका बोर्डका सदस्य विनोद कुमार शाही, प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतम, उपसचिव चन्दा थापा, शाखा अधिकृत रमेश भट्टराईलगायतको उपस्थिति   थियो । कार्यक्रमका वत्ताहरुले नवगठित नेतृत्वलाई बधाई दिँदै अभियानमा साथ दिने प्रतिवद्धता जनाएका छन् ।

सञ्जालको कार्यकाल दुई वर्षको हुनेछ ।  

प्रकाशित मिति : २०८२, १७ जेठ शुक्रबार ००:००  ८ : १६ बजे