ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिकामा शव वाहन विदेशमा हुने नेपालीले सहयोग गरेका छन् । दुर्गम क्षेत्रमा शव वाहन नहुँदा स्थानीयले झेल्नुपरेको समस्या समाधानका लागि शेर्पा समाज वेल्जियम र जर्मनले आर्थिक सहयोग गरेर खिजीदेम्बाका लागि शव वाहन तयार गरिदिएका हुन् ।
शव वाहन नहुँदा पोष्टमार्टम गर्नुपर्ने शव ट्याक्टर रिजर्भ गरेर मृतकका आफन्तले महंगो खर्चमा रुम्जाटार र रामेछापको सदरमुकाम मन्थली लैजानुपर्ने बाध्यता थियो । जुन सुकै सवारीले शव नबोक्ने र बोक्ने सवारीले महंगो रकम लिँदा शोकमा परेको परिवार थप आर्थिक भारमा पर्ने गरेको थियो ।
शव वाहन सञ्चालन गरेर स्थानीयको भैपरी आउने समस्या समाधानका लागि गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले पहल थालेका थिए ।
शव वाहन सञ्चालनका लागि सहयोग जुटाउन पालिका अध्यक्ष शेर्पा वेल्जियम र जर्मनसम्म पुगेका थिए ।
शेर्पा समाज वेल्जियम र जर्मनको निमन्त्रणामा राष्ट्रिय स्तरका गायक समेत रहेका गाउँपालिका अध्यक्ष शेर्पाले यसवर्षको ल्होसार विशेष कार्यक्रममा त्यहाँ पुगेर गीत गाउँदै खिजीदेम्बाका लागि शव वहान सञ्चालनमा सहयोग गर्न अपिल गरेका थिए ।
अध्यक्ष शेर्पाको माग अनुसार शेर्पा समाज वेल्जियम र जर्मनले खिजीदेम्बालाई शव वाहन सञ्चालनका लागि आर्थिक सहयोग रकम पठाएपछि खिजीदेम्बामा शव वहान सञ्चालन गर्न सम्भव भएको हो ।
दाताको सहयोग प्राप्त भएपछि ९ लाख १३ हजार खर्च गरेर पुरानो एम्बुलेन्स मर्मत गरी शव वाहन तयार गरिएको गाउँपालिका अध्यक्ष शेर्पाले बताए ।
पालिकाको बिग्रिएर थन्काएको पुरानो एम्बुलेन्सलाई मर्मत गर्न दाताको सहयोग लिएर पालिकाले शव वाहन सञ्चालन गरिएको हो । गाउँपालिका गठन भएपछि अघिल्लो कार्यकालमा खरिद गरिएको एम्बुलेन्स बिग्रीएर नचल्ने अवस्थामा पुगेपछि लामो समयदेखि थन्काएर राखिएको थियो ।
सवारी मर्मत गर्ने ग्यारेजले समेत शव वाहन बनाउँदा लागेको कूल खर्चमा ६३ हजार रकम छुट दिएको छ ।
शेर्पा समाज वेल्जियम र जर्मनले दिएको आर्थिक सहयोगले खिजीदेम्बालाई शव वाहन सञ्चालनमा ल्याइएको र यसले यसक्षेत्रका नागरिकलाई राहत मिलेको गाउँपालिका अध्यक्ष शेर्पाको भनाई छ ।
शव वाहन सञ्चालनमा सहयोग गर्ने शेर्पा समाज वेल्जियम र जर्मनले खिजीदेम्बाको पहिचान झल्काउने सांस्कृतिक पार्क निर्माणमा समेत सहयोग गर्ने भएको छ ।
शव वाहन सञ्चालनमा ल्याउने खिजीदेम्बा जिल्लामा पहिलोे पालिका हो ।
जिल्लाका अन्य कतिपय स्थानीय तहमा एउटा पनि एम्बुलेन्स छैन । खिजीदेम्बामा ५ वटा एम्बुलेन्स सञ्चालमा छन् । ५ वटा मध्ये ४ वटा एम्बुलेन्स अध्यक्ष शेर्पाले सहयोगमै जुटाएका हुन् ।