ओखलढुंगाको मोलुङ गाउँपालिका कार्यालयमा वडाअध्यक्षले नै ताला लगाएका छन् । प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तरगत गरेको कामको भुक्तानी नदिएको भन्दै वडा नम्बर १ का वडाअध्यक्ष कमलबहादुर बानिया र वडा नम्बर ४ का वडाअध्यक्ष भोलाराज राईले मंगलबार कार्यालय समयमा कर्मचारी बाहिर निकालेर ताला लगाएका हुन् ।
बेरोजगार नागरिकलाई रोजगारी दिने कार्यक्रम अनुसार वडामा पूर्वाधार निर्माणको काम लगाएपनि पालिकाले भुक्तानी नदिएपछि ताला लगाइएको वडाअध्यक्ष बानियाले बताए । ‘गरिब विपन्न बेरोजगारलाई रोजगारी दिने भनेर काम लगाइयो । काम पनि राम्रो भएको छ तर आर्थिक वर्षको अन्तमा आएर भुक्तानी हुँदैन भनेपछि ताला लगाइयो’ बानियाले भने, ‘वडा वडामा विपन्न बेरोजगार जनताले पाउनुपर्ने रकम पाइरहेका छैनन् उनिहरुको न्यायका लागि पालिकामा ताला लगाउन बाध्य हुनुपरेको छ । भुक्तानीको ग्यारेन्टि नभए काम कारबाही अघि बढ्न दिँदैनौं ।’ पटक पटक छलफल गर्दा पनि सुनुवाई नभएपछि तालाबन्दीमा उत्रिनु परेको उनको भनाई छ ।
आर्थिक वर्षको अन्तमा योजना फरफारक र अन्तिम किस्ता निकासा गर्नुपर्ने समयमा धमाधम काम गरिरहेका कर्मचारीलाई वडाअध्यक्षहरुले काम रोक्न नगाएर कार्यालय बाहिर निकालेका थिए ।
भुक्तानी नदिएको विरोधमा आक्रोशित वडाअध्यक्षहरुले प्रमुख प्रशासकीय अधिकृत ओशो कर्णसहितका कर्मचारीलाई जनताले काम गरेवापत पाउनुपर्ने रकम भुक्तानीको सुनिश्चितता गर्न अन्यथा कार्यालयबाहिर निस्किन दवाव दिएका थिए ।
वडाअध्यक्षहरुले सुरुमा बत्ति बन्द गरेर कर्मचारीलाई १÷१ गरेर बाहिर निकालेका थिए ।
असार अन्तमा कामको चटारो हुने समयमा पालिकाको सेवा प्रभावित बनेको छ ।
लगाएको समयमा पालिका अध्यक्ष र उपाध्यक्ष कार्यालयमा थिएनन् ।