यस वर्ष निसेलढोर र ढोरपाटनमा स्याउ नफलेपछि किसान चिन्तित बनेका छन् । निसीखोला गाउँपालिका–५ निसेलढोरको कुँडे, गाभा, काङलगायतका स्थानमा स्याउ उत्पादन नभएपछि किसान चिन्तित भएका हुन् । निसेलढोरसँगै ढोरपाटन नगरपालिका–९ को नवी, भूजी, स्यालपाखेलगायत क्षेत्रमा पनि स्याउ उत्पादनमा गिरावट आएको छ ।
जिल्लामा सबैभन्दा बढी स्याउ फल्ने क्षेत्रमै उत्पादनमा कमी आएको छ । स्थानीय हेमराज सापकोटाले चार रोपनी क्षेत्रमा लगाएको स्याउले यस वर्ष १० प्रतिशत पनि उत्पादन नदिएको बताउनुभयो । झण्डै एक दशकदेखि स्याउखेती गर्दै आएकामा पछिल्लो तीन वर्षदेखि उत्पादन निरन्तर घट्दै गएको उनले गुनासो गरे ।












