२०८३, ९ भदौ मंगलबार | Tue Aug 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हरितालिका तीज आज मनाइँदै



भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज देवादिदेव महादेवको पूजा–आराधना गरी देशभर मनाइँदैछ।

धार्मिक विश्वासअनुसार यस दिन व्रत बसेर शिव–पार्वतीको पूजा उपासना गर्दा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्त हुने मान्यता छ। सत्ययुगमा हिमालयकन्या पार्वतीले गौरीघाटमा तपस्या गरी महादेवलाई पति पाएको विश्वासमा यो पर्वको सुरुआत भएको बताइन्छ।

कथाअनुसार पार्वतीको इच्छाविपरीत उनका पिता हिमालयले विष्णुसँग विवाह गरिदिन खोजेपछि पार्वतीका साथीहरूले उनलाई अपहरण गरी सुरक्षित ठाउँमा लुकाएका थिए। त्यही स्थानमा पार्वतीले निराहार व्रत गर्दै शिवलाई वरको रूपमा प्राप्त गरिन्। त्यही दिन भाद्र शुक्ल तृतीया भएकाले त्यसै दिनदेखि हरितालिका तीजको व्रत बस्ने परम्परा सुरु भएको धार्मिक मत छ।

संस्कृतका ‘हरित’ (हरण गरिएको) र ‘आलिका’ (साथी) शब्द मिलेर ‘हरितालिका’ बनेको हो।

धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमका अनुसार तीज व्रत केवल श्रीमान्को दीर्घायुका लागि मात्र नभई अटल सौभाग्य, सन्तानप्राप्ति तथा अविवाहित युवायुवतीले असल जीवनसाथी प्राप्तिको कामनाका लागि पनि बस्ने प्रचलन छ। उनका अनुसार व्रत तीन प्रकारका हुन्छन् – निराहार, जलाहार र फलाहार । स्वास्थ्यका कारण निराहार बस्न नसक्नेहरूले जलाहार वा फलाहार गरेर पनि व्रत बस्न सकिने उनले बताए।

उनले भने, “सर्वतः आत्मानं गोपायेत्—सबैतिरबाट आत्माको रक्षा गरेर मात्र व्रत गर्नु उचित हुन्छ।”

धर्मशास्त्रीहरूले तीज व्रतलाई विभेदकारी परम्परा नभई परिवारको समग्र सुख, शान्ति र कल्याणसँग जोडिएको पर्वका रूपमा व्याख्या गरेका छन्। उनीहरूका अनुसार आत्मावादी र ईश्वरवादी दुवै खालका मानिसले तीज व्रत बस्ने गरेका छन्।

समग्रमा, मनोकामना पूर्ति र परिवारको यस लोक तथा पारलौकिक कल्याणका लागि हरितालिका तीजको विशेष धार्मिक महत्त्व रहेको मानिन्छ।

प्रकाशित मिति : २०८२, १० भदौ मंगलबार ००:००  १० : ०१ बजे