राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपाने निर्विरोध निर्वाचित भएकी छन् । सत्ता गठबन्धनको तर्फबाट उनको एकल उम्मेदवारी परेपछि सभापति पदमा सर्वसम्मत चयन भएको हो ।
न्यौपानेले उम्मेदवारी दर्ताका क्रममा कांग्रेस सांसद रामहरि खतिवडालाई प्रस्तावक र एमाले सांसद कृष्णगोपाल श्रेष्ठलाई समर्थक राखेकी थिइन् ।
पार्टीको निर्णयअनुसार संसदीय सुनुवाइ समितिको सभापतिको पदबाट राजीनामा दिएर उनले राज्य व्यवस्था समितिमा उम्मेदवारी दिएकी हुन् । एकल उम्मेदवारी परेपछि भोलि दिउँसो ३ बजे बस्ने बैठकले औपचारिक रूपमा सर्वसम्मत निर्वाचित भएको घोषणा गर्नेछ ।
समानुपातिक तर्फबाट प्रतिनिधिसभामा प्रवेश गरेकी न्यौपानेलाई यसअघि कांग्रेसले सभामुखको उम्मेदवारसमेत बनाएको थियो ।











