२०८३, ९ भदौ मंगलबार | Tue Aug 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सामाजिक सञ्जाल नियन्त्रण होइन, कानुन बनाएर नियमन गर्न मिडिया सोसाइटीकाे ध्यानाकर्षण



नेपाल मिडिया सोसाइटीले सामाजिक सन्जाल नियन्त्रण गर्नुको साटो कानुन बनाएर नियमन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

सामाजिक सञ्जाललाई दर्ता गरेर मात्र सञ्चालन गर्नुपर्ने सर्वोच्च अदालतको आदेशलाई आधार बनाएर सरकारले नेपालमा सूचीकरण नभएका २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको थियो ।

सरकारको यो कदम कानूनी दृष्टिले औचित्यपूर्ण भए पनि व्यावहारिक रुपमा हतारोमा लिइएको र यसले अभिव्यक्ति स्वतन्त्रता सीमित गर्ने आशंका मिडिया सोसाइटीको छ ।

शिक्षा, स्वास्थ्य, वातावरण, नागरिक हकसम्बन्धी सर्वोच्चले दिएका आदेशहरू उपेक्षित भएको तर, सामाजिक सञ्जाल रोक्ने आदेशलाई भने प्राथमिकतामा राखेर सरकार हतारोमा अघि बढेको भन्दै मिडिया सोसाइटीले भनेको छ, ‘यसले सरकारको नियतप्रति शंका बढाएको छ । सामाजिक सञ्जाल अहिले नागरिक आवाजको शक्तिशाली माध्यम बनेको छ । सरकारको आलोचना गर्ने प्रमुख ठाउँ यही हो । त्यसैले अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने सरकारको सोच हो भन्ने धेरैको अनुमान छ ।’

सामाजिक सञ्जाल आजको युगमा नागरिक जीवनको अभिन्न हिस्सा बनिसकेको भन्दै यसलाई नियन्त्रण भन्दा कानुन बनाएर नियमन गर्नु आवश्यक रहेको सोसाइटीको मत छ । ‘नियमनका नाममा नियन्त्रण गर्न खोज्नु खतरनाक हुन्छ,’ मिडिया सोसाइटीका अध्यक्ष मदन लम्सालले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।

सर्वोच्च अदालतले पनि कानून बनाएर मात्र नियमन गर्नु भनेर स्पष्ट आदेश दिएको भन्दै सोसाइटीले भनेको छ, ‘अनलाइन दुरुपयोग, गलत सूचना, ठगी, अश्लीलता र साइबर अपराधका घटना बढिरहेका छन् । तर, सरकार यस्ता चुनौतीलाई समग्र कानूनी संरचना निर्माण गरेर होइन, हतारमा प्रतिबन्ध लगाउने बाटोमा अघि बढेको देखिन्छ । यही कारण सरकारको यो कदम अभिव्यक्ति स्वतन्त्रता खोस्ने षड्यन्त्र हो भन्ने व्याख्या भइरहेको छ ।’

सामाजिक सञ्जालहरू मनोरञ्जन वा सूचना आदानप्रदानका माध्यममात्र नभई समाचार, व्यवसाय, राजनीतिक अभियान, शिक्षादीक्षा र समाजसेवाका माध्यमसमेत बनेको भन्दै सोसाइटीले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयले प्रयोगकर्ताको व्यक्तिगत तथा व्यावसायिक काममा असर पर्न सक्ने जनाएको छ ।

सामाजिक सञ्जाल कम्पनी नेपालमा दर्ता हुनुपर्ने सरकारको तर्क अस्वाभाविक नभएको तर यो व्यवस्था पुरा गराउन सरकारले मार्गनिर्देशन दिने, प्रक्रिया स्पष्ट पार्ने, संवाद गर्ने प्रयास गरेको प्रमाण नदेखिएको मिडिया सोसाइटीले जनाएको छ । त्यसैले यसलाई हठात् भन्दा केही फिचरमात्रै चल्न दिनेगरी विस्तारै नियन्त्रण गर्नु बढी उपयुक्त हुने सोसाइटीको धारणा छ ।

‘प्रतिबन्धले प्रयोगकर्ता रोकिँदैनन्, बरु वैकल्पिक तरिका अपनाएर प्रयोग गरिरहन्छन् । यसले अनौपचारिक प्रयोग बढाउँछ, अपराध अझै नियन्त्रण बाहिर जान्छ,’ मिडिया सोसाइटीले भनेको छ, ‘त्यसैले सरकारले कानून निर्माणमा प्राथमिकता दिनुपर्छ । डेटा सुरक्षा, गोपनीयता, अभिव्यक्ति स्वतन्त्रता, व्यावसायिक अधिकार, राष्ट्रिय हित र अन्तरराष्ट्रिय सम्झौतालाई ध्यानमा राखी समग्र कानूनी संरचना तयार हुनुपर्छ ।’

विज्ञप्तिको अन्त्यमा लेखिएको छ, ‘सामाजिक सञ्जाल दर्ता अनिवार्य गर्ने व्यवस्था आवश्यक छ । तर त्यसलाई लागू गर्ने प्रक्रियामा पारदर्शिता, समय, छलफल र नागरिकहित अनिवार्य हुनुपर्छ । सामाजिक सञ्जाल आजको युगमा नागरिक जीवनको अभिन्न हिस्सा बनिसकेको छ । यसलाई नियमन गर्नु आवश्यक छ । तर नियमनका नाममा नियन्त्रण गर्न खोज्नु खतरनाक हुन्छ । दर्ता अनिवार्य होस्, अपराध नियन्त्रण होस् वा कर संकलन सबै कुरा पारदर्शी कानूनी बाटोबाट मात्र सम्भव छ । सामाजिक सञ्जाल नियमनलाई लोकतान्त्रिक र कानूनी बाटोमा लैजानु जरुरी छ । यसमा सरकारको गम्भिर ध्यान जावोस् ।’

प्रकाशित मिति : २०८२, २३ भदौ सोमबार ००:००  १० : ०३ बजे