सरकारले जेनजी प्रदर्शनको क्रममा भएका सम्पूर्ण घटनाको छानबिन गर्ने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले छानबिनका लागि उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ । बैठकपछि गृहमन्त्री ओमप्रकाश अर्यालले समितिको संरचनाबारे भने टुंगो लाग्न बाँकी रहेका बताए ।
सरकारले आन्दोलनको क्रममा मृत्यु हुनेको परिवारलाई १५ लाख राहत दिने भएको छ । गृहमन्त्री अर्यालले मृतकका प्रत्येक परिवारलाई १० लाख क्षतिपूर्ति र अन्य खर्च बापत ५ लाख दिने निर्णय भएको जानकारी दिए । उक्त रकम सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत हस्तान्तरण हुनेछ ।
सरकारले आन्दोलनका क्रममा मारिएका सम्पूर्णको सम्झनामा आगामी असोज १ गते शोक दिवस मनाउने निर्णय पनि गरेको छ । दिवसमा देशैभर सार्वजनिक बिदा दिने र राष्ट्रिय झण्डा झुकाउने निर्णय भएको उनले बताए ।











