तिहार नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट बाहिरिनेको सङ्ख्यामा तीव्र वृद्धि भएको छ ।
रोजगारी, व्यापार, अध्ययन र अन्य व्यक्तिगत कारणले उपत्यकामा बसोबास गर्दै आएका धेरैजसो नागरिक अहिले आफ्नो जन्मथलो फर्किन थालेका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
तिहारको चहलपहल सुरु भएसँगै उपत्यकाका मुख्य नाकामा यात्रु बाहिरिने क्रम बढेको ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । उनले भने, तिहार सुरु भएसँगै काठमाडौँका विभिन्न नाकाबाट ४४ हजार ५०९ जनाले उपत्यका छाडेका छन् र ३१ हजार १२ जना भित्रिएका छन् ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्यांक अनुसार नागढुंगा नाका सबैभन्दा व्यस्त नाका देखिएको छ । सो नाकाबाट मात्रै १८ हजार ९२० यात्रु उपत्यका बाहिरिएका छन् । यसैगरी थानकोट नाकाबाट २८५, तिनपिप्लेबाट ८४५ र साँखु नाकाबाट ६९२ जना उपत्यका बाहिरिएका छन् ।
चाडपर्वमा हुनसक्ने ट्राफिक जाम, सवारी दुर्घटना र यात्रु ठगीजस्ता घटनालाई न्यूनीकरण गर्न विशेष ट्राफिक व्यवस्थापन योजना लागू गरिएको प्रवक्ता सुवेदीले बताए । उनले भने, नाकाहरुमा ट्राफिक चेकपोइन्ट सक्रिय बनाइएको छ भने लामो दूरीको सार्वजनिक सवारीमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नदिने गरी निगरानी गरिँदैछ ।












