२०८२, १७ माघ शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आउँदो मंगलबार यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना



आउँदो मंगलबार (माघ २०) देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना छ । पश्चिम नेपालमा वर्षा र हिमपातको ‘राम्रो’ सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शुक्रबार (माघ १६) आउँदो साता (माघ २२ सम्म)को मौसम पूर्वानुमान सार्वजनिक  गर्दै महाशाखाले पहाडी भूभागमा मंगलबारबाहेक अरू दिन वर्षाको सम्भावना नरहेको जनाएको छ ।

“आउने मंगलबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँहरू र वाग्मती प्रदेशको एक–दुई ठाउँहरूमा हल्कादेखि मध्यम पानी पर्ने सम्भावना छ । अरू दिन पानी पर्ने देखिँदैन,” महाशाखाका मौसमविद् डेभिड ढकालले भने ।

आइतबार (माघ १८)देखि मंगलबारसम्म पश्चिम नेपालका उच्च पहाडी तथा हिमाली भूभागका भने धेरै स्थानमा ‘हल्का’देखि ‘मध्यम’ हिउँ वा पानी पर्ने सम्भावना रहेको उनले जानकारी दिए ।

“आइतबारदेखि मंगलबारभित्र सुदूरपश्चिम प्रदेशदेखि गण्डकी प्रदेशका धेरै ठाउँहरूमा र वाग्मती प्रदेशदेखि कोसी प्रदेशका थोरै ठाउँहरूमा हल्कादेखि मध्यम हिउँ वा पानी पर्ने सम्भावना रहेको छ,” उनले भने ।

मंगलबार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै ठाउँमा पनि हल्कादेखि मध्यम पानी पर्ने सम्भावना रहेको उनले बताए । उनले भने, “योबाहेक अरू दिन पानी पर्ने सम्भावना देखिँदैन ।”

यसपालि हिउँदयाममा पश्चिम नेपालमा यो तेस्रो वर्षा हुनेछ ।

तराईमा आउँदो हप्ताभरि नै हुस्सु/कुहिरो लाग्ने सम्भावना छ । “दिउँसोतिर भने हुस्सु/कुहिरो क्रमिक रूपमा सुधार हुँदै जाने देखिन्छ,” उनले भने । 

आउँदो साता तराईको तापक्रम हल्का बढ्ने सम्भावना छ । “मौसम परिवर्तन भइरहने कुरा हो,” उनले भने, “बीचमा केही फेरबदल पनि हुनसक्छ ।”

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । आउँदो साताभरि पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहने महाशाखाले जनाएको छ।

प्रकाशित मिति : २०८२, १७ माघ शुक्रबार ००:००  ५ : १८ बजे