२०८१, १५ बैशाख शनिबार | Sat Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कवितामा क्रान्ति ल्याउने कवि : युगकवि



आज युगकवि सिद्धिचरण श्रेष्ठको ११० औँ जन्मजयन्ती । वि.सं. १९६९ साल जेठ ९ गते आजकै दिन ओखलढुंगामा जन्मनुभएका सिद्धिचरण श्रेष्ठ नेपाली साहित्य क्षेत्रमा युगकविका नामले जीवन्त परिचित हुनुहुन्छ ।

ओखलढुंगामा जन्मनु भएका कवि श्रेष्ठको वि.सं.२०४९ साल जेठ २२ गते निधन भयो । तर उहाँ आफ्ना अनेकौं कृति मार्फत आज पनि जिवित हुनुहुन्छ ।

सिद्धिचरण श्रेष्ठ नेपाली कवितामा क्रान्ति शब्दको प्रयोग गर्ने प्रथम क्रान्तिकारी कवि हुनु हो । नेपाली साहित्य जगतबाट क्रान्ति, परिवर्तन र समतामूलक समाजको परिकल्पना गर्न माहिर उहाँले देशको माटो, नागरिकले लिएको बाटो र राजनीतिमा फैलिएको विकृतिको पाटोलाई केन्द्रमा राखेर आज भन्दा ५० औं वर्षअघि कलम चलाउनुभएको थियो ।

चेतना र जागरणका गीत गाउने कार्यमा सिद्धिचरणले तत्कालीन युगमा जति ठूलो योगदान दिए त्यो उल्लेखनीय योगदानको अहिलेपनि साहित्यनुरागीहरुले प्रशंसा गर्दछन् । ‘साहित्य मार्फत समाज रुपान्तरणको बाटो जसरी उहाँले देखाउनुभयो पछिल्लो पुस्ता आज पनि उहाँकै बाटोमा हिडिरहेको छ ।’ साहित्यकार एवम् ओखलढुंगा क्याम्पसका प्राध्यापक डा. भेषनाथ खनाल भन्नुहुन्छ । ‘परिवर्तित समाजमा क्रान्तिको उद्घोष गर्ने स्रष्टाहरू जति पनि हुन सक्छन् तर स्रष्टाको मूल्याङ्कन ऊ बाँचेको युग वा उसले गरेको सिर्जनाको युगीन धरातलबाट हुनुपर्छ । यस आधारमा हेर्दा कवि सिद्धिचरणले लेखेको भूमिका जति प्रशंसा गरेपनि कम हुन्छ ।’ सिद्धिचरणले युगान्ताकारी परिवर्तनको बिजारोपण गर्दै कविता मार्फत समाज चित्रण गरेझैं साहित्य माफर्त पछिल्लो पुस्ताले दमदार आवाज बुलन्द गर्न सक्नुपर्ने डा. खनालको तर्क छ ।

सिद्धिचरणले सिर्जना मार्फत राणा काल, प्रजातन्त्र काल र पञ्चायत काल तीनै समयमा एउटै आवाज उठाएको पाइन्छ । साहित्य क्षेत्रबाट सिद्धिचरणको स्मरणमा प्रकाशित सबैजसो लेख, रचनामा उहाँले कविता मार्फत कल्पना गरेको क्रान्ति, परिवर्तन, जाति, वर्ग, लिङ्ग, धर्म, संस्कृतिलगायत सबैखाले विभेदरहित समतामूलक समाजको स्थापना र प्रत्येक नागरिकमा परिवर्तनको अनुभूति तथा स्वाधीनतापूर्ण नेपाली जीवनको पहिचानलाई सम्झना गरेको पाइन्छ ।

श्रेष्ठले आफ्नो जन्मभूमिको सम्झनामा लेखेको मेरो पियारो ओखलढुंगा कविता निकै चर्चित छ । त्यस बाहेक उहाँका नेपाली भाषा र नेपाल भाषाका गरी दुई दर्जनभन्दा बढी कृतिहरू प्रकाशित छन् ।

सिद्धिचरणले कविताका विविध रूपअन्तर्गत लघुतम रूप (मुक्तकीय रचना), लघु रूप (फुटकर कविता) र मध्यम रूप (खण्डकाव्य) गरी तीन ओटा रूपमा विशिष्ट कलम चलाएको पाइन्छ । त्यसमा पनि उहाँलाई फुटकर कविता र खण्डकाव्यमा सफलता मिलेको थियो । उहाँका कवित्वको चरम प्राप्ति फुटकर रचनामा पाइन्छ भने आख्यान र कवित्वको सन्तुलित मिश्रण खण्डकाव्यमा पाइन्छ । कवि सिद्धिचरण श्रेष्ठको ‘मङ्गलमान’ वैचारिक दृष्टिले सर्वोत्कृष्ट खण्डकाव्य हो । असनको त्यौडटोल निवासी मङ्गलमान नेपाली अछुतहरूको प्रिय नेताका रूपमा खण्डकाव्यमा उपस्थित छ । एउटा सामान्य मान्छे सामाजिक चेतना र जागरणका लागि कति फलदायी हुन्छ भन्ने कुराको जीवन्त उदाहरण मङ्गलमान कृति मार्फत कविले चित्रण गरेका थिए । मङ्गलमान धेरै यथार्थ र थोरै काल्पनिक चरित्र हो तर उसको सामाजिक, सांस्कृतिक तथा क्रान्तिकारी चरित्रमा स्वयं सिद्धिचरण प्रतिविम्बित भएर लेख्नुभएको थियो । तत्कालीन राजनीति, नेपाली समाज र मानवीय संवेदनाको अन्तिम रूप यसमार्फत पोखिएको छ । नेपाली कविता परम्परामा कवि सिद्धिचरणको भूमिका पनि त्यस कारण खास मानिन्छ ।

तत्कालीन परिवेशमा कवि सिद्धिचरणले असमान सामाजिक संरचनालाई पूर्णरूपमा भत्काएर तल्लो वर्गका लागि अनकूल हुने समाजको निर्माणका निमिक्त कमल मार्फत आफ्ना कुरा प्रस्तुत गर्ने गर्नुभएको थियो ।

युगकविले चाहेको समतामूलक समाज प्राप्तिको लडाइँ नेपाली भूमिमा आजसम्म पनि पूरा हुन सकेको छैन । फुलेपछि गमला बिर्सिने अथवा माथि पुगेपछि टेक्ने धर्ती बिर्सिने नेतृत्ववर्गको प्रवृत्तिमा कुनै परिवर्तन आएको छैन । युगकविले मङ्गलमान नामको कृतिका माध्यमबाट छोडेर गएको भताभुङ्ग देश अहिले पनि जस्ताको तस्तै छ । विकृतिको समाप्तिका लागि एउटा झिल्को नै काफी हुन्छ तर विकृतिले संवेदनाशून्य शासकहरू जन्माउन थाल्यो, जड हृदय भएका मान्छेहरू जन्माउन थाल्यो र धोकापूर्ण राजनीतिको जाँतोले सिद्धान्त र नैतिकतालाई पिस्न थाल्यो भने मङ्गलमानजस्ता देशभक्तहरूले यसरी नै मर्नुपर्छ भन्ने कारुणिक यथार्थको उद्घाटन गरेर कवि सिद्धिचरणले साँच्चै युगीन आवाजको सम्प्रेषण यस काव्यमार्फत गरेको पाइन्छ । यही उहाँको तत्कालीन समाज र वर्तमान युगप्रतिको आफ्नो मुखबोली हो ।

त्यसैले त युव–युग सम्मका सवाल आँकलन गरेर सिर्जना गर्ने कवि सिद्धिचरण अजर–अमर हुनुहुन्छ । सिद्धिचरणका धेरै कृतिहरुले भनेका छन् ‘एउटा चरित्रभित्र लुकेको अनन्त शक्ति वा सामथ्र्यले युगलाई नै ब्युँझाइदिन सक्छ, मान्छेलाई नैतिकता र संवेदनाको पाठ पढाउन सक्छ र सिङ्गो विश्वलाई राजनीतिक इमानदारिता र सुशासनको मार्गनिर्देश गर्न सक्छ ।’ यिनै व्यापकताभित्र कवि सिद्धिचरणको वैचारिक धरातल फैलिएको छ ।               

साहित्य क्षेत्रका ज्ञाताहरुले कवि सिद्धिचरणलाई जनमुखी एवं लोककल्याणकारी राजनीतिक परिवेशका पक्षधरका रुपमा लिन्छन् । ‘शक्ति र सामथ्र्य छउन्जेलसम्म प्रयोग गर र अशक्त भएपछि छाडिदेऊ’ यो नेपाली राजनीतिको सर्वमान्य दर्शन उ बेला नै कवि श्रेष्ठले चित्रण गरेको पाइन्छ ।

कवि सिद्धिचरण श्रेष्ठले मूलुकका धेरै राजनीतिक आन्दोलन र परिवर्तनहरूलाई आफ्नै आँखाले देख्नुभयो । आफैंले भन्नुभयो । उहाँको निधनपछि नेपाली राजनीतिमा निकै ठुला ठुला परिवर्तन भए राजसंस्था ढल्यो, लोकतन्त्र आयो, गणतन्त्र आयो तर कवि सिद्धिचरणले २०१८ साल आसपासमा गरेको त्यो कल्पना भन्दा फरक दिशामा परिवर्तन भएको छैन ।

मन्त्रिमण्डल फेरिँदै गो फेरिएन देश

मेटिएन दुःखकष्ट मेटिएन क्लेष ।

वर्तमान राजनीति र मूलुकको अवस्था ५५ वर्षअघि कविले सिर्जनामा उल्लेख गरेको भन्दा फरक छैन  । उच्च वर्गले निम्न वर्गलाई गर्ने थिचोमिचो, अन्याय, अत्याचार र अमानवीय क्रियाकलापप्रति कवि सिद्धिचरणको सदैव विमति रहेको देखिन्छ । त्यसैले त सिद्धिचरण श्रेष्ठ समतामूलक नेपाली समाजका परिकल्पनाकारका रुपमा परिचित हुनुहुन्छ । 

कवि सिद्धिचरण नेपाली समाजमा विकृतिको रूपमा रहेको जातीय विभेद वा छुवाछुत प्रथाका घोर विरोधी हुनुहुन्थ्यो ।

उहाँका ‘मेरो प्यारो ओखलढुंगा’, ‘निर्झर’, ‘भीमसेन थापा’, ‘शबरी’, ‘जूनकीरी’ लगायतका मर्मस्पर्शी रचनाहरु सर्वाधिक चर्चामा छन् । उहाँका कविता संग्रह ‘मेरो प्रतिबिम्ब’, ‘कोपीला’, ‘कुहिरो र घाम’ लगायत खण्डकाव्यहरु ‘उर्वशी’, ‘ज्यानमारा शैल’, ‘आँसु’ लगायतका कृति छन् ।

विसं १९९७ सालमा ‘क्रान्तिबिना शान्ति हुँदैन’ भन्ने कविता लेखे वापत तत्कालीन सरकारले उनलाई १८ वर्षको जेल सजाय तोकेको थियो । १८ वर्ष जेल बस्नुभएका श्रेष्ठको

२०४९ जेठ २२ गते निधन भएको थियो ।

सिद्धिचरण श्रेष्ठ नेपाली साहित्यिक फाँटमा युगकवि र नेपाल भाषाका कविरत्नका रुपमा परिचित हुनुहुन्छ ।

ओखलढुंगामा जन्मिएका युगकवि श्रेष्ठको नामबाट उहाँको जन्मभूमिमा पूर्ण कदको शालीक राखिएको छ । उक्त शालिकको गतवर्ष राष्ट्रपति विद्यादेवी भण्डारीले अनावरण गर्नुभएको थियो । श्रेष्ठकै सम्मानमा ओखलढुंगाको एक मात्र नगरपालिकाको नाम सिद्धिचरण नगरपालिका राखिएको छ । उक्त नगरपालिकाले सिद्धिचरणको योगदानलाई जिवन्त राख्न विशेष योजना ल्याएर नगरपालिका क्षेत्रलाई साहित्यीक पर्यटकीय नगरी बनाउने अभियान थालेको छ ।

युगकविकै नामबाट साहित्यिक संग्राहलय स्थापना गरिएको छ । युगकविको जन्मभूमिमा श्रष्टापार्क निर्माणको काम थालिएको छ । युगकविकै नामबाट सिरहाको मिर्चैया देखि सोलुखुम्बु सम्मको मुख्य सडकको नाम सिद्धिचरण लोकमार्ग राखिएको छ ।

प्रकाशित मिति : २०७८, ९ जेठ आइतबार ००:००  ३ : ४९ बजे