सरकारले ओखलढुंगामा स्वास्थ्य उपकरण खरिदका लागि ४ करोड बजेट पठाएको छ । प्रदेश १ का भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङको पहलमा जिल्लामा कोरोना संक्रमितको उपचारका लागि आवश्यक उपकरण खरिद गर्न सरकारले बजेट उपलब्ध गराएको हो ।
प्रदेशका मन्त्री गुरुङको सिफारीस बमोजिम मन्त्री स्तरको निर्णयका आधार अर्थ मन्त्रालयले विभिन्न शिर्षकमा ४ करोड बजेटको सहमति दिएको छ । सरकारले ओखलढुंगा अस्पतालमा २ वटा आईसीयु र ५ वटा भेन्टिलेटर सञ्चालन गर्न ३ करोड, अक्सिजन प्लान्ट खरिद तथा जडान गर्न ७५ लाख र पिसिआर मेसिन खरिदका लागि २५ लाख बजेटको अख्तियारी दिएको हो । जिल्ला अस्पतालमा जडान हुने आईसियुबाट विशेषगरी १४ वर्षमुनीका बालबालिकाले बढी लाभ लिनेछन् ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना संक्रमणबाट थलिएका बिरामीलाई जिल्लामै सहज उपचार सेवा दिन आवश्यक बजेट व्यवस्था गरिएको मन्त्री गुरुङले बताउनुभयो । जिल्लाका नागरिक महंगो शुल्क तिरेर उपचारको खोजीमा सहर पुगेर भौतारिनुपर्ने बाध्यता संधैका लागि अन्त्य गर्न आफु लागिपरेको उहाँको भनाई छ । ‘ओखलढुंगा र आसपासका क्षेत्रका नागरिकलाई निःशुल्क, सहज र सरल उपचारको व्यवस्था जिल्ला अस्पतालबाटै गराउन आवश्यक पर्ने सबै उपकरण र जनशक्ति व्यवस्थापनमा लागेको छु । आईसीयु, भेन्टिलेटर, अक्सिजन प्लान्ट, पिसिआर मेसिन लगायतका लागि बजेट आइसक्यो अरु धेरै कुराहरु प्रकृयामा छन् क्रमशः सबै आवश्यकता पुरा हुन्छन् ।’ मन्त्री गुरुङले भन्नुभयो, ‘यतिबेला कोरोना संक्रमणबाट जनता बचाउनु छ । पछिपनि सबैखाले स्वास्थ्य उपचारको प्रबन्ध जिल्लामै गराउनुछ । सरकारले नागरिकको जीवनरक्षाका लागि कुनै कसुरबाँकी राख्दैन । म बजेट अभाव हुन दिन्न जिल्ला स्थित सबै सरोकारवालाहरु पनि जिम्मेवार भएर लाग्नुपर्छ ।’ सबैको साझा प्रयासले मात्रै संक्रमण नियन्त्रण र संक्रमितको उपचार सम्भव हुने भएकाले आ–आफ्नो ठाउँबाट योगदान गर्न मन्त्री गुरुङले सबैलाई आवहन गर्नुभएको छ । ओखलढुंगा जिल्ला अस्पतालको दिगो व्यवस्थापनले माथिल्लो सगरमाथाका सोलुखुम्बु, खोटाङ, ओखलढुंगा र उदयपुरको उत्तरीक्षेत्रका नागरिकको स्वास्थ्य सेवा सुनिश्चित हुने उहाँको भनाई छ । विगतमा स्वास्थ्य चौकीको जतिपनि सेवा दिन नसक्ने जिल्ला अस्पताल रुम्जाटार मन्त्री गुरुङकै पहलमा अहिले पूर्वाधार विकास, उपकरण र जनशक्ति व्यवस्थान हुनेक्रममा छ ।
आईसीयु, भेन्टिलेटर, अक्सिजन सहितको सेवा सुरु भएपनि रुम्जाटार अस्पताल सुविधा सम्पन्न अस्पतालको रुपमा विकास हुने रुम्जाटार अस्पतालका सूचना अधिकारी उमा गुरुङले बताउनुभयो । रुम्जाटार अस्पताले मन्त्री गुरुङको साथ पाएपछि धमिलो विगतलाई भुलेर प्रतिष्ठीत अस्पतालको परिचय दिनेक्रममा रहेको उहाँले बताउनुभयो । ‘स्रोत र साधनले भ्याए सम्म त सेवा दिइन्थ्यो तर अभावै अभावमा गुज्रिएकाले अस्पतालले खासै अपेक्षित सेवा दिन नसकेको विगत थियो । अहिले मन्त्री ज्यूको साथ र सहयोग पाएपछि धेरै कुरामा सुधार आएको छ ।’ उहाँले भन्नुभयो, ‘झन यो कोभिडको बेलामा आईसीयु, भेन्टिलेटर, अक्सिजन प्लान्ट र पिसिआर मेसिन सहितको सेवा दिन बजेट आयो अब यसको व्यवस्थापन गरेपछि जिल्ला अस्पताल सुविधा सम्पन्न अस्पताल हुनेछ र सेवामा कुनै कमी हुनेछैन ।’ उहाँका अनुसार सरकारले बजेट दिनेभएपछि आन्तरिक व्यवस्थापनमा अस्पताल जुटेको छ ।
मन्त्री गुरुङकै पहलमा प्रदेश सरकारको सहयोगमा ओखलढुंगा सामुदायिक अस्पतालमा कोभिड केयर सञ्चालनमा छ । कोभिड केयरमा राखेर अस्पतालले बिरामीलाई सेवा दिएबापत लाग्ने खर्च प्रदेश सरकारले व्यहोर्ने गरि प्रदेश सरकार र ओखलढुंगा सामुदायिक अस्पताल बिच सम्झौता भएको छ ।
सामुदायिक अस्पतालले अरु भन्दा जिल्लामा प्रभावकारी सेवा दिएपछि जिल्लामा आईसीयु र भेन्टिलेटर सहितको पर्याप्त सेवा नपाउँदा अस्पताल पुगेका कोरोना संक्रमित छट्पटाएर प्राण त्याग्न बाध्यछन् । २ दिन अघि कोरोनाबाट संक्रमितलाई तत्काल भेन्टिलेटरमा राख्नुपर्ने अवस्थामा भेन्टिलेटर नहुँदा उनीहरुको मृत्यु भएको थियो ।
जटिल अवस्थामा पुगेका केही बिरामी भने महंगोमा हेलिकोप्टर रिजर्भ गरेर सहरका अस्पताल धाउन बाध्य छन् ।
आईसीयु, भेन्टिलेटर र पर्याप्त अक्सिजन सहितको अस्पताल व्यवस्थापन र पिसिआर जाँच समेत जिल्लामै हुने भएपछि स्थानीय खुसी भएका छन् ।
अभावका बिच सेवा प्रवाह गर्न समस्या भईरहेको अवस्थामा सरकारले बजेट पठाएको खबरले उत्साहित बनाएको जिल्ला अस्पतालका डा. दिक्षान्त प्रसाईले बताउनुभयो । ‘बजेट आयो खुसीको कुरा हो । बजेटले मात्रै हुँदैन त्यो अनुसारको भौतिक संरचना र जनशक्ति व्यवस्थापन पनि तत्काल गरिदिनुभयो भने हामी सेवा प्रवाहमा कुनै कमजोरी हुन दिँदैनौं ।’ डा. प्रसाईले भने ।
सामुदायिक अस्पतालको अक्सिजन प्लान्टले माग धानेन
ओखलढुंगा सामुदायिक अस्पतालले करिब २ वर्षअघि जडान गरेको अक्सिजन प्लान्टले माग नधानेको अस्पतालका निर्देशक युवराज आचार्यले बताउनुभयो । ‘सामान्य अवस्थाका लागि सानो प्लान्ट स्थापना गरिएको थियो । अहिले महामारीमा उक्त प्लान्टले माग धान्न सकेन ।’ आचार्यले भन्नुभयो, ‘अहिले अस्पतालमा अक्सिजन अभाव छ । प्रहरीकोमा भएको स्टक सिलिन्डर ल्याएर जसोतसो काम चलाईरहेका छौं । यो पनि सकिएपछि के गर्ने भन्ने अर्को तनाव छ ।’ ओखलढुंगामा उत्पादन हुने अक्सिजनले नपुगेपछि जिल्लाबाट सिलिन्डर पठाएर सिरहाको लहानबाट अक्सिजन भरेर ल्याउन थालिएको छ ।
जिल्लामा गत जेठ ३ गते बसेको सर्वपक्षिय बैठकले आवश्यक स्वास्थ्य उपकरण खरिदका लागि सरकारसँग माग गर्ने निर्णय गरेको थियो । त्यस अघिनै मन्त्री गुरुङले प्रदेश सरकार मार्फत संघ सरकारमा योजना पेश गरिसक्नुभएको थियो । जिल्ला अस्पतालका माग मागपत्रहरु प्रदेशको सामाजिक विकास मन्त्रालय हुँदै सरकारमा पेश हुने गरेका छन् ।
जिल्लामा सरकारी बजेट आउने सुनिश्चित भएपछि सरकार विरोधी दलका नेताहरु पनि आफ्नो पहलमा काम भएको भन्दै जसलिने होडबाजी गरिरहेका छन् ।
यसअघि आईसीयु सहितका उपकरण सामुदायिक अस्पतालमा जडान गर्ने भनिएको भएपनि सरकारले जिल्ला अस्पतालका लागि सामान पठाएकाले सरकारी अस्पताल रुम्जाटारमा उपकरण जडान हुने स्रोतले जनाएको छ ।