राहदानीको विद्युतीय प्रणालीमा समस्या आएको छ । राहदानी विभागले प्रणालीमा आएको समस्याका कारण विद्युतीय राहदानी सेवा बन्द भएको हो ।
विभागका शाखा अधिकृत किरणकुमार गुरूङले उक्त समस्यालाई प्राविधिक समूहबाट समाधानका कार्य भइरहेको जानकारी दिए ।
विभागले आज सार्वजनिक सूचना जारी गर्दै भनेको छ, ‘यही मङ्सिर ६ गतेदेखि समस्या आएको र यसको पूर्ण समाधानका सम्बन्धमा प्रारम्भिक निष्कर्ष मङ्सिर ९ गतेसम्ममा थप जानकारी गराउन सकिने बेहोरा अनुरोध छ ।’
विद्युतीय प्रणालीमा आएको समस्या समाधान गरी मङ्सिर १० गतेसम्ममा राहदानीको सेवा पूर्णरूपमा सुचारू गराउने गरी विभागले काम गरिरहेको छ ।
विभागले यो समस्याबारे ६६ वटै जिल्ला प्रशासन कार्यालय तथा १७ वटै इलाका प्रशासन कार्यालयलाई समेत जानकारी गराएको छ ।