२०८२, १६ चैत्र सोमबार | Mon Mar 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

झापामा विपन्नका लागि ६३० घर निर्माण



काठमाडौं। झापा गाउँपालिकामा विपन्न परिवारलाई सुरक्षित आवास प्रदान गर्न ६३० घर निर्माण गरिएको छ । सुरक्षित आवास कार्यक्रम तथा दिगो समुदाय परियोजनाअन्तर्गत झापा गाउँपालिका, सहारा नेपाल र ह्याविट्याट नेपाल साझेदारीमा ती घर निर्माण भएका हुन् ।

गाउँपालिकामा सन् २०१९ मा ७० , २०२० मा १३०, २०२१ मा २२८ र २०२२ मा १७५ वटा घर निर्माण गरिएको सुरक्षित आवास कार्यक्रमका प्रमुख टीकाप्रसाद कँडेलले जानकारी दिए ।

‘विपन्न वर्ग परिवारलाई लक्षित गरी सुरक्षित, बलियो घर निर्माण गरिएको हो’ उनले भने , ‘केही घर निर्माणका क्रममा छन् ।’ सुरक्षित आवास कार्यक्रमअन्तर्गत गरिबीको रेखामुनि रहेका अतिविपन्न, गरिब, घरविहीन, सुकुम्बासी, पिछाडिएका वर्ग, प्रकोप प्रभावित, महिला र फरक क्षमता भएका व्यक्ति तथा समुदायलाई लक्षित गरी आवास निर्माण गरिँदै आएको छ ।

संविधानले नै तोकेको आवास हक कार्यान्वयनमा सरकारको एक्लो प्रयासमात्र पर्याप्त नहुने झापा गाउँपालिका अध्यक्ष जयनारायण साहले बताए । धेरै आवास निर्माण गर्नुपर्ने भएकाले सहारा नेपाल र ह्याविट्याट नेपाल गाउँपालिकाले त्रिपक्षीय साझेदारी गर्दै आएको उल्लेख गरे ।

सहारा नेपालका लेखा अधिकृत राजु गिरीले परियोजनाअन्तर्गत बरण्डासहित आरसीसी पिलर भएको तीनकोठे घर निर्माण गरिँदै आएको जानकारी दिए । एउटा घर निर्माणमा एक लाख ८५ हजार लाग्ने उनले बताए ।

सन् २००७ देखि ह्याविट्याट नेपाल र सहारा नेपालले साझेदारीमा झापा, मोरङ, सुनसरी र उदयपुरमा परियोजनाअन्तर्गत आवास निर्माण गर्दै आएको छ ।

प्रकाशित मिति : २०७९, १३ असार सोमबार ००:००  ११ : ३५ बजे