२०८२, ४ पुस शुक्रबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सबै ठाउँमा उम्मेदवारी दिएको भए २० लाख मत पाउँथ्यौं माधव नेपाल



काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ३० वैशाखको स्थानीय तह निर्वाचनमा सबै पालिकामा उम्मेदवारी दिएको भए आफूहरुले २० लाख मत ल्याउने दावी गरेका छन् ।

सोमबार पार्टीको केन्द्रीय परिषद बैठकलाई सम्बोधन गर्दै नेपालले २८ प्रतिशत स्थानीय तहमा उम्मेदवारी दिँदा पनि ९ लाख मत पाएको दाबी गरे ।

‘हामीले यसपटक झण्डै २८ प्रतिशत उम्मेदवार मात्रै खडा गरेका थियौं,’ नेपालको भनाइ छ, ‘यसमा ९ लाख मत पायौं । यदि हामीले सबै ठाउँमा उम्मेदवारी दिएको भए यो भन्दा दोब्बर मत पाउने थियौं । कम्तीमा पनि २० लाखको सेरोफेरोमा मत पाउने थियौं । २० लाख मत पाउने हो भने प्रतिनिधिसभामा हाम्रो केही सिट सुरक्षित हुनेछ ।’

नेपालले अब सम्पूर्ण ध्यान आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा लगाउनुपर्नेमा जोड दिए । ‘अब हामीले हाम्रो ध्यान एउटै कुरामा केन्द्रित गर्नुपर्छ । त्यो हो प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन । अब हाम्रो सम्पूर्ण ध्यान त्यसमै राख्नुपर्छ,’ नेपालले भने।

उनले संघीय निर्वाचन क्षेत्रका १६५ र प्रदेशसभातर्फका ३३० सिटमा नै उम्मेदवारी दिने गरी तयारी थाल्न समेत निर्देशन दिए । दुवै निर्वाचनमा समानुपातिक प्रणालीतर्फको मत चाहिने भन्दै नेपालले उक्त मत बढाउनेतर्फ ध्यान दिन पार्टीका नेता कार्यकर्तालाई आग्रह गरे।

‘प्रतिनिधिसभा र प्रदेशभसाका लागि पनि हामीलाई समानुपातिक मत चाहिन्छ,’ उनले भने, ‘समानुपातिक मत बढाउन सक्यौं भने हाम्रो सिट पनि बढ्ने छ ।’

प्रकाशित मिति : २०७९, १३ असार सोमबार ००:००  १ : ३७ बजे