जनकपुर । मधेश प्रदेश सरकारका मन्त्री धर्नामा बस्ने भएका छन् । प्रहरी समायोजन गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्न प्रधानमन्त्रीलाई भेटेरै आग्रह गरेको र यसअघि अल्टिमेटम दिँदै ज्ञापन पठाउँदा समेत ध्यान नदिएपछि अब प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिने भएका हुन् ।
शनिबार पत्रकार सम्मेलन गरी मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री भरत साहले प्रहरी समायोजन नगरेको विरोधमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।
धर्नामा प्रदेशका मन्त्री, प्रदेश सांसदको सहभागिता रहने मन्त्री साहले बताए । यसअघि प्रदेशका मन्त्रीहरुले गत साता प्रहरी समायोजनका निम्ति प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र पठाउँदै आन्दोलनको अल्टिमेटम दिएका थिए ।
नेपालको संविधानको धारा २६८ ले प्रदेश प्रहरी संगठनको व्यवस्था गरेको तथा अनुसूची ६ को क्रम संख्या १ मा प्रहरी, शान्ति सुरक्षा सम्बन्धी अधिकार प्रदेश सरकारको क्षेत्राधिकारभित्र रहने उल्लेख छ । तर प्रहरी समायोजन नहुँदा प्रदेश सरकारले सरकारको अनुभूति गर्न नपाएको मन्त्री साहले बताए ।












