जुम्ला । आधारभूत आवश्यकतामध्यको खानेपानीको पहुँचमा नपुगेको तिला गाउँपालिकाको जुम्लाकोट गाउँमा वर्षौंपछि शुद्ध खानेपानीको धारा घर घरमा पुगेको छ ।
१ सय ७२ घरधुरी रहेको जुम्लाकोट गाउँका सबै घरमा ‘एक घर एक धारा’ निर्माण भएका छन् ।
स्थानीयको समस्यालाई मध्यनजर गर्दै पेस नेपाल जुम्लाद्वारा सञ्चालित (क्याप्स) कर्णाली परियोजनामार्फत जुम्लाकोट गाउँमा एक घर एक धारा निर्माण गरिएको पेश नेपाल जुम्लाका अध्यक्ष किशोर न्यौपानले बताए ।
“पानीको चरम अभाव भोगेको जुम्लाकोट गाउँमा १ सय ७२ घरमा एक घर एक धारा निर्माणपछि स्थानीय खुसी छन् । घर घरमा मिटर सहितका धारा निर्माण भएका छन् । अहिले खानेपानी कै लागि गाग्री प्रदर्शन गर्नुपर्ने, घण्टौँ लाइन कुर्नुपर्ने अवस्था छैन ।”, उनले भने।
यहाँ २० घन मिटरका २ वटा पानी टयांकी समेत निर्माण गरी ६९ लाख ९२ हजार रुपैयाँको लगानीमा एक घर एक धारा निर्माण गरिएको हो ।
आधारभूत आवश्यकता मानिने खानेपानीको अभाव वर्षौँदेखि झेल्दै आएको जुम्लाकोट बासीको तितो अनुभव छ । कतिपय दिन बिहानदेखि बेलुकासम्म धाराकै बाससम्म हुन्थ्यो ।
“गाउँमा जनसङ्ख्या बढ्दै गयो । पानीको स्रोत घट्दै गयो । भएको एउटा धारो पनि जीर्ण हुनुका साथै धारामा निकै सानो पानी आउँथ्यो । तर अहिले घरघरमा धारा निर्माण भएपछि राहत भएको ।”, जुम्लाकोटका स्थानीय धनलाल बस्नेतले भने ।
अहिले जुम्लाकोटका सबै १ सय ७२ वटै घरमा खानेपानीको धारा छन् । सबै धारामा चौबिसै घण्टा पानी आइरहन्छ । झन्डै दुई दशकसम्म भोगिरहेको खानेपानी समस्या बल्ल समाधान भएको छ ।
एक घर एक धाराको अनुगमनका क्रममा खानेपानी घर घरमा पुगेपछि स्थानीयले निकै राहत महसुस गरेको तिला गाउँपालिकाका प्रमुख प्रशासकीय मीन बहादुर रावलले जानकारी दिए ।












