काठमाडौं। बालेन शाहले काठमाडौं महानगरपालिकाको मेयरका रुपमा काम गर्न थालेको १०० दिन पुरा भएको छ। स्वतन्त्र उम्मेद्वारी दिएर राजधानी सहरको मेयर निर्वाचित बालेनले निर्वाचन अभियानको बेला गरेका वाचाअनुसार नीति तथा कार्यक्रम र बजेट ल्याए । उनले आफ्नो घोषणा पत्रमा नेवाः समुदायमा प्रचलित घरेलु मदिरालाई ब्रान्डिङ गर्ने कार्यक्रम बजेटमा समेटे ।
काठमाडौं महानगरभित्रका बस स्टपमा परम्परागत शैलीको फल्चा निर्माण गर्ने, एकीकृत एम्बुलेन्स सेवा सञ्चालनको व्यवस्था मिलाउने लगायत कार्यक्रम पनि उनका चुनावी वाचा हुन् ।
नीति तथा कार्यक्रमभित्र अटाएको ७० वर्ष नाघेका नागरिकहरुको घरैमा स्वास्थ्य परीक्षण गर्ने र नेपाल सरकारले तोकेका औषधिहरु निःशुल्क उपल्ब्ध गराउने कार्यक्रम पनि बालेनको घोषणपत्रमै थियो । यी सबै कुरा महानगरको बजेटमा समेटिएका छन् ।
मेयर बालेन साहले महानगरभित्रका बिग्रेका ढल, सडक तत्काल मर्मतसम्भारका लागि पूर्वाधार एम्बुलेन्स सेवा संचालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरेका थिए, जुन उनले पहिलो कार्यपालिका बैठकबाटै निर्णय गराएर कार्यान्वयनमा ल्याए ।
बन्द रहेका ब्रुमरहरु पनि यसबिचमा सञ्चालनमा आए भने दमकल पनि थपिएको छ ।काठमाडौंमा हुने जात्रा, पर्वहरुलाई अन्तर्राष्ट्रियस्तरमा ब्रान्डिङ गर्ने बुँदा नीति तथा कार्यक्रममा छ ।
बजेटमा घोषणा भएअनुसार काठमाडौं महानगरपलिकासँग भगिनी सम्बन्ध रहेका विश्वका १८ महानगर र सार्क राष्ट्र राजधानी महानगरका प्रमुखहरुलाई इन्द्रजात्राका अवसरमा २४ भदौमा आमन्त्रण गरिएको छ ।
बजेटमा घोषणा भएअनुसार महानगरपालिकाका सबै कार्यालयमा सीसीटिभी राख्ने काम सुरु भएको छ । सहरका अवैध संरचना हटाउन १ साउनमा जारी गरेको ३५ दिने सूचना पालना नभएपछि ३६औं दिनबाट डोजर चलाउन थाल्यो । महानगरपालिकाले अहिले मापदण्ड विपरितका डिजिटल र होर्डिङ बोर्डहरु पनि हटाउन थालेको छ ।
सहरका अवैध संचना हटाउन काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले थालेको अभियान अहिले अरु सहरहरुमा पनि फैलिएको छ ।
यस्ता छन् बालेनले गरेका महत्वपूर्ण काम
१) कार्यपालिकाको बैठक लाइभ गरेर, महानगरको बैठकलाई पारदर्शी बनाए।
२) शिक्षालाई प्राथमिकतामा राखे र बजेटलाई तीन गुणा बढाए।
३) फुड इन्स्पेक्टर राख्ने ।
४) शौचालय व्यवस्थापन ।
५) वडा–वडामा डाक्टर राख्ने ।
६) इन्द्रजात्रालाई थप समृद्ध बनाउन छिमेकी देशका नेतृत्वलाई बोलाउने नीति ।
७) फोहोरको व्यवस्थापनमा थोरै भएपनि समाधान ।
८) सडक फराकिलो र पार्किङ समस्या समाधानमा चालेको कदम ।
९) पूर्वाधार एम्बुलेन्स
१० अवैध संरचनामाथि माथि एक्सन












