काठमाडौं । सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्दै छ । प्रतिवेदनलाई अन्तिम रुप दिन आज बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा फेरि कार्यदलको बैठक बस्न लागेको हो ।
कार्यदल बैठक बसेर प्रतिवेदनलाई अन्तिम रूप दिने र त्यसपछि शीर्ष नेतालाई बुझाइने सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।
मन्त्री कार्कीले करिब सिट बाँडफाँड टुङ्गो लागेको दाबी गरे पनि कार्यदलका सदस्यहरूले भने अझै सिट बाँडफाँडमा समस्या रहेको बताए ।आजकार्यदल बसेर दाबी कममा झार्ने उनले बताए । ‘जति झार्न सकिन्छ छलफल हुन्छ । त्यसपछि शीर्ष नेताहरूसँग बसेर टुङ्गो लाग्छ’ उनले भने ।
आफूले विगतमा दाबी गरेको सिट भन्दा केही क्षेत्र घटेको भएपनि अझै २ सय भन्दा धेरै क्षेत्रमा गठबन्धनका दलहरूले दाबी गरिरहेका छन् । १६५ निर्वाचन क्षेत्र मध्ये आज पनि २ सय भन्दा बढि क्षेत्रमा दाबी भएपछि कार्यदललाई सहमति निकाल्न समस्या भएको हो ।
‘अहिले सम्म कसले कति सिट पाउने सहमति भएको छैन’ कार्यदलका एक सदस्यले भने ‘कार्य दलको बैठक फेरी बस्ने र शीर्ष नेतृत्वसँग पनि छलफल गर्ने सहमति भएको छ ।’
उनका अनुसार दुई पक्षीय र बहुपक्षीय बसेर दाबी संख्या घटाउँदै जाने कुरामा सबै एकमत भएका छन् । हिजोको बैठकमा पनि कांग्रेसले एक सय सिट दाबी गरेको थियो ।
माओवादी ६० को हाराहारीमा दाबी गर्यो । जसपाको ३२, नेकपा एकीकृत समाजवादीले ३५ देखी ४० सम्मको दाबी गरे ।












