२०८३, १० भदौ बुधबार | Wed Aug 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गठबन्धनको आरोप ‘राष्ट्रपतिको कदम संवैधानिक व्यवस्थामाथि प्रहार’ (विज्ञप्तिसहित)



काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरे पछि सत्ता गठबन्धनले विरोध गरेको छ । सत्ता गठबन्धनले नागरिकता विधेयमाथि राष्ट्रपतिको कदम संवैधानिक व्यवस्थामाथि प्रहार भएको निष्कर्ष निकालेको छ ।

बुधबार सत्ता गठबन्धन दलको बैठकले राष्ट्रपतिले संविधानको पालना र संरक्षण गर्नुपर्नेमा उल्टै संवैधानिक व्यवस्थामाथि नै प्रहार भएको निष्कर्ष निकालेको हो ।

बैठक पछि जारी वक्तव्यमा भनिएको छ, ‘प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पुनः पारित भई प्रमाणिकरणका लागि सम्माननीय राष्ट्रपतिसमक्ष पेश भएको नागरिकता विधेयक संविधानले सुनिश्चित गरेको १५ दिनको समयसिमाभित्र प्रमाणिकरण नगरेर राष्ट्रपतिले संविधानको पालना र संरक्षण गर्नु पर्ने कर्तव्यको संवैधानिक व्यवस्था माथिनै प्रहार गरेको ठहर गर्दछ । राष्ट्रपतिको यो गैरसंवैधानिक कदमबाट जनताले निर्वाचित गरेको संघीय संसदको घोर अपमान र अवमूल्यन भएको छ ।’

राष्ट्रपतिको यो कदमबाट नागरिकता प्राप्त गरिसकेका नेपाली आमा–बाबुका सन्तानले नेपाली नागरिकता प्राप्त गर्ने संवैधानिक हकबाट बञ्चित भएको विज्ञप्तिमा उल्लेख छ ।

‘संविधान सभाबाट निर्मित संविधानले व्यवस्था गरेको जनतामा निहित सार्वभौमसत्ता, संवैधानिक सर्वोच्चता र लोकतान्त्रिक शासन व्यवस्थाका आधारभुत मुल्य मान्यतामा गम्भीर प्रहार भएको यो बैठक ठहर गर्दछ । राष्ट्रपतिको यो कदमका विरुद्ध सचेत रहन संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संवैधानिक व्यवस्थाका पक्षधर सबै राजनीतिक दल, नागरिक समाज, बौद्धिक समुदाय, संचार जगत लगायत सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा यो बैठक आह्वान गर्दछ,’ विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल’ प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको हस्ताक्षर छ ।

प्रकाशित मिति : २०७९, ५ आश्विन बुधबार ००:००  १ : ५४ बजे