२०८२, ९ चैत्र सोमबार | Mon Mar 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गर्भवती र सुत्केरीलाई ‘पोषण थैली’ उपहार दिँदै सिमकोट गाउँपालिका



हुम्ला । हुम्लाको सिमकोट गाउँपालिकाले गर्भवती र सुत्केरी महिलाहरुका लागि ‘पोषण थैली’ उपहार दिन सुरु गरेको छ। ‘सुनौलो हजार दिन’का महिलाको पोषणमा सुधार ल्याउन गाउँपालिकाले ‘पोषण थैली’ वितरण सुरु गरेको हो।

पोषण नपुगेर गर्भवती र सुत्केरी महिलाहरुको स्वास्थ्य अवस्था बिग्रँदै जाने गरेका कारण गाउँपालिकाले चालु आर्थिक वर्षबाट सुरु गरेको नयाँ कार्यक्रम ‘अध्यक्ष उपाध्यक्ष ल्याउँदै छन् कोसेली, गर्भवती र सुत्केरी महिलाहरुलाई पोषण थैली’ भन्ने नाराका साथ पोषणयुक्त खाद्यन्न समावेश गरेको पोषण थैली वितरण गरिएको गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले जानकारी दिए।

गाउँपालिकाले वडा नं २ ठेहेमा भएको स्वास्थ्य चौकीमा एक विशेष कार्यक्रमको आयोजना गर्दै पोषण थैली वितरण कार्यक्रम सुरुवात गरिएको हो। ‘सुनौलो हजार दिनभित्रका आमाहरुलाई पोषणको मात्रामा कमी नहोस् भन्नका लागि गाउँपालिकाले आठ वटै वडामा पोषण थैली वितरण अभियान सुरु गरेका हौं,’ उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पालिका अध्यक्ष भण्डारीले भने।

सिमकोट–२ का वडा अध्यक्ष देवजन बोहराको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा वडाका १० गर्भवती र सुत्केरी महिलालाई ‘पोषण थैली’ वितरण गरिएको ठेहे स्वास्थ्य चौकीका इन्चार्ज दानबहादुर बोहराले जानकारी दिए।

प्रकाशित मिति : २०७९, २३ पुस शनिबार ००:००  १२ : ५३ बजे