२०८२, १७ माघ शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एम्बुलेन्सलाई तिर्न खर्च नहुँदा बस चढेकी गर्भवतीको अस्पताल नपुग्दै मृत्यु



बाजुरा बडिमालिका नगरपालिका १ पिनालेखकी २६ वर्षीया जानकी विकको सुत्केरी हुन नसकी सोमबार राति मृत्यु भएको छ ।

जिल्ला अस्पताल बाजुराले सुविधा सम्पन्न अस्पतालमा रेफर गरे पनि उनको अस्पताल पुग्न नपाउँदै मृत्यु भएको हो । एम्बुलेन्सलाई तिर्ने पैसा नभएपछि बसको टिकट काटेर जानकीलाई महेन्द्रनगर ल्याउने तयारी गरिएको थियो । तर, बाटोमै श्रीमतीको मृत्यु भएको रमेश विकले बताए ।

बाजुराबाट महेन्द्रनगरको दुरी ३१७ किलोमिटर रहेको छ । यहाँ सम्म पुग्न करिब १३ घण्टा लाग्छ । यति लामो दुरी बसमा यात्रा गर्दा ज्यानै जोखिममा पर्ने भन्दै बस चालकले महिलालाई अछामको बलयलपाटा अस्पताल लैजान सुझाव दिएका थिए । महिलालाई व्यथाले च्यापेपछि अछाम र डोटीको सिमाना चौखुट्टे बाट चालकको सुझाव अनुसार महिलालाई जिप मार्फत बयलपाटा अस्पताल लगिएको थियो । तर, महिलाको अस्पताल नपुग्दै ज्यान गएको हो ।

बयलपाटा अस्पतालमा कार्यरत अहेव भवानी ढुङ्गानाले गर्भवती महिलाको बाटोमै मृत्यु भएको बताए ।

माघ ४ गते आफन्तले जानकीलाई बाजुरा अस्पतालमा परीक्षणका लागि ल्याएका थिए । अस्पताले सामान्य औषधि दिएर घर पठाएको थियो । जानकीलाई सुत्केरी व्यथाले च्यापेपछि ८ गते राति पनि आफन्तले अस्पताल पुराए ।

अस्पतालले जानकी मुटु रोगी भएकाले सुविधा सम्पन्न अस्पताल लग्न सुझाव दिएको थियो । सुविधा सम्पन्न अस्पताल पुग्न नपाउँदै जानकीले ज्यान गुमाइन् ।

प्रकाशित मिति : २०७९, १० माघ मंगलबार ००:००  १० : ३२ बजे