२०८३, १० भदौ बुधबार | Thu Aug 27 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालगन्ज उपमहानगरको एक अर्ब ६७ करोड बजेट



नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष ०८०/८१ का लागि एक अर्व ६७ करोड ५६ लाख एक हजार पाँच सय ८७ रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ । शनिबार नेपालगन्जमा भएको १३औँ नगरसभामा उपमेयर कमरुद्दिन राईले आगामी आर्थिक वर्षका लागि अनुमानित बजेट पेस गरेका हुन् । प्रस्तावित बजेट चालू आर्थिक वर्षभन्दा चार करोड बढी हो ।

नेपालगन्ज उपमहानगरपालिकाले चालू आर्थिक वर्षका लागि एक अर्ब ६३ करोड ६५ लाख ७२ हजार चार सय रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको थियो । संघीय तथा प्रदेश सरकारबाट प्राप्त अनुदान र आन्तरिक आयका आधारमा अनुमानित बजेट नगरसभामा प्रस्तुत गरिएको उपमेयर राईले बताए । उनले समग्र नगर विकासका लागि वडा कार्यालयसँगको सहकार्यलाई आत्मसात् गर्दै चालू आर्थिक वर्षजस्तै आगामी आर्थिक वर्षका लागि पनि २५ करोड रुपैयाँ सिलिङ उपलब्ध गराउने व्यवस्था गरिएको बताए । नेपालगन्ज उपमहानगरपालिकाले आन्तरिक आय १८ करोड र राजस्व/अनुदान बचत मौज्दात २० करोड हुने अनुमान गरेको छ ।

कुल आम्दानीको अधिकांश भार केन्द्रीय सरकार र प्रदेश सरकारबाट प्राप्त हुने अनुदान भएकाले आन्तरिक राजस्वको दायरा बढाई आन्तरिक स्रोत वृद्धि गर्ने कार्यक्रमलाई अभियानकै रूपमा अघि बढाइने उपप्रमुख राईले बताए ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख प्रशान्त विष्टले आगामी आर्थिक वर्षमा शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, सुशासन प्रवद्र्धनलाई प्राथमिकता दिइएको बताए । नीति तथा कार्यक्रममा विद्यालयहरूलाई सूचना प्रविधिमैत्री बनाउने, गुणस्तरीय शिक्षामा जोड, स्थानीय पाठ्यक्रम कार्यान्वयन, निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने, योगमैत्री नगर बनाउने, पाँच वर्षभित्र क्षय रोगमुक्त उपमहानगर घोषणा गर्ने, जमुनाहा नाकामा हेल्थ डेस्क सञ्चालन गरी सरुवाजन्य रोगको रोकथाम, निगरानी र व्यवस्थापन गर्ने, राँझा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन आवश्यक पहल गर्ने उल्लेख छ ।

यस्तै, होटेल व्यवसायीसँगको सहकार्यमा होटेल परिसरमा सार्वजनिक शौचालय निर्माणका लागि आवश्यक पहल गर्ने, वर्षात्को समयमा हुने डुबान कम गर्न नालीहरूको प्रभावकारी रूपमा सरसफाइ तथा व्यवस्थापन गर्ने, नेपालगन्जको ऐतिहासिक कला, संस्कृति झल्किने गरी वडा नम्बर २० स्थित सुर्खेत रोडमा प्रवेशद्वार स्थापना गर्ने, आफ्नै भवन नभएका वडा कार्यालयहरूको भवन निर्माण कार्यलाई प्राथमिकता दिने, बागेश्वरी मन्दिरलाई थप व्यवस्थित र सौन्दर्यकरण गर्न पूर्वतर्फ बागेश्वरी चिल्ड्रेन पार्क निर्माण गर्ने नीति तथा कार्यक्रममा समेटिएको छ ।

अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्न रिङरोडको विकाससंगै वरपरका जग्गाको ल्यान्ड पुलिङमार्फत जग्गा विकास गरी सामूहिक बस्ती विकास गर्ने कार्यका लागि आवश्यक पहल गर्ने, आधुनिक प्रविधिको प्रयोग गरी कागजको प्रयोग घटाउँदै लगिने, नागरिकका लागि सहज अनलाइन सेवाको विकास गर्ने, डिजिटलाइज्ड सेवा प्रदान गर्ने विषयहरू नीति तथा कार्यक्रममा समेटिएको मेयर विष्टले बताए । नीति तथा कार्यक्रममा आगामी दुई वर्षभित्र १५ शड्ढयाको आधारभूत अस्पताल सञ्चालनका लागि प्रदेश तथा संघीय सरकारसँग पहल गर्ने, ६० वर्ष पुगेका स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन दिने उल्लेख छ ।

प्रकाशित मिति : २०८०, १० असार आइतबार ००:००  १० : ०७ बजे