स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले स्थानीय युवाका लागि निःशुल्क लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गरेको छ । युवाहरू सरकारी जागिर तयारी कक्षाका लागि हजारौँ खर्च गरेर शहर धाउनुपर्ने बाध्यता रहेकाले त्यस्ता युवाहरुलाई गाउँपालिकाले गाउँमै निःशुल्क लोकसेवा पढाउन थालेको हो ।
गाउँपालिकाले नेपाल प्रहरी, आर्मी तथा सशस्त्र प्रहरीको तयारीका लागि निःशुल्क तीन महिने कक्षा सञ्चालन गरेको छ । युवामा सकारात्मक भावनाको विकास गराइ कुशल नेतृत्व, सफल, मेहनती, प्रतिस्पर्धी र इमान्दार तथा देशभक्ति युवाका रूपमा स्थापित गराउन लोकसेवा तयारी कक्षा सञ्चालन गरेको गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले बताए ।
गाउँपालिकाका भित्रका युवाको लोकसेवा आयोगमा पहुँच र सहभागिता उल्लेख्य रूपमा हुन नसकेको भन्दै गाउँपालिकाले युवाका लागि पहिलो चरणमा जनपथ प्रहरी, आर्मी र सशस्त्र प्रहरीको तयारी कक्षा सञ्चालन गरेको छ ।
गाउँघरमै लोकसेवा तयारी कक्षा पालिकाले सञ्चालन गरेपछि यहाँ युवाहरू खुसी भएका छन् । तयारी कक्षामा ३८ जना सहभागिता २४ जना पुरुष र १४ जना महिलाको सहभागिता रहेको छ ।
पालिकाले युवाका लागि लोकसेवा तयारी कक्षा सञ्चालन गरेपछि काठमाडौँ, पोखरा, बुटवल जानु पर्ने बाध्यता अन्त्य भएको छ । सबैखाले लोकसेवा तयारी गाउँमै गर्न पाएपछि स्थानीय युवा दंग छन् ।












