२०८२, ३० मंसिर सोमबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मेलम्चीको पानी आजदेखि फेरि काठमाडौँमा वितरण



मेलम्चीको पानी आजदेखि पुनर्वितरण सुरु गरिएको छ । खानेपानीमन्त्री प्रदीप यादव र मेलम्ची सङ्घर्ष समितिबीच वार्ता सफल भएपछि आज मेलम्चीबाट पानी काठमाडौँ ल्याइएको हो ।

खानेपानीमन्त्री यादव र मेलम्ची सङ्घर्ष समितिबीच सोमबार राति भएको वार्तामा काठमाडौँमा पानी पठाउने विषयमा सहमति भएको थियो । उक्त सहमतिपश्चात् आज मेलम्चीको पानी सुन्दरीजलमा ल्याइएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक ई रत्नप्रसाद लामिछानेले बताए ।

उनले भने, “काठमाडौँमा मेलम्चीबाट पानी पठाउने विषयमा खानेपानीमन्त्री र सङ्घर्ष समितिबीच सहमति भएको छ ।’ दसैँ अगाडि काठमाडौँवासीलाई मेलम्चीको पानी उपलब्ध गराउने प्रतिबद्धता जनाएका मन्त्री यादवसहितको टोली वार्ताका लागि सोमबार मेलम्ची पुगेको थियो ।

वार्तापछि बाढीपीडित सङ्घर्ष समितिबाट आन्दोलनका सबै कार्यक्रम हाललाई स्थगन गर्ने र काठमाडौँ उपत्यकामा पानी पठाउन मेलम्ची खानेपानी विकास समितिलाई सहयोग गर्ने सहमति भएको थियो । सुरुङभित्र पानी पठाएपछि पानी काठमाडौँ आइपुगेर वितरण प्रणालीमा जोडिएको कार्यकारी निर्देशक लामिछानेले बताए ।

२०७८ असार १ गते तथा साउन १६ र १७ गतेको बाढीले मेलम्ची खानेपानी आयोजनाको संरचनामा क्षति गरेपछि काठमाडौँमा हिउँदयाममा पानी ल्याउने र बर्खामा सुरुङ बन्द गर्ने गरिएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आपूर्ति हुने गरेको छ ।

प्रकाशित मिति : २०८१, २२ आश्विन मंगलबार ००:००  ५ : २२ बजे