२०८३, २८ जेष्ठ बिहिबार | Thu Jun 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौं मेडिकल कलेज र भोटेकोशी गाउँपालिकाबीच सम्झौता, बासिन्दाले उपचारमा २५ प्रतिशतसम्म छुट पाउने



सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका का बासिन्दाले अब काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड मा उपचार गर्दा विभिन्न स्वास्थ्य सेवामा विशेष छुट सुविधा पाउने भएका छन्।

भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड र भोटेकोशी गाउँपालिका बीच मिति २०८३ जेठ २८ गते सम्पन्न सम्झौताअनुसार गाउँपालिकाका बासिन्दालाई अस्पतालका विभिन्न सेवामा २५ प्रतिशतसम्म छुट प्रदान गरिने भएको हो।

सम्झौताअनुसार अस्पतालमा उपचारका लागि आउने सेवाग्राहीले ओपीडी दर्ता कार्ड निःशुल्क प्राप्त गर्नेछन् भने सामान्य बेड शुल्कमा २५ प्रतिशत र केबिन शुल्कमा १० प्रतिशत छुट पाउनेछन्। त्यसैगरी ICU, HDU, CCU, अपरेशन थिएटर सेवा, ल्याब परीक्षण, CT Scan, MRI (फिल्म बाहेक), एक्स–रे, अल्ट्रासाउन्ड, डेन्टल एक्स–रे, ECG, Endoscopy, Colonoscopy, ECHO, TMT, EEG, Physiotherapy तथा Dental Treatment (सामग्री बाहेक) लगायतका सेवामा २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ।

यस्तै ERCP, MRCP तथा Cath Lab सेवामा समेत २५ प्रतिशत छुट प्रदान गरिने सम्झौतामा उल्लेख छ। तर Cath Lab मा प्रयोग हुने स्टेन्टलगायतका सामग्री तथा अंग प्रत्यारोपण (Transplant) सेवामा भने छुट सुविधा लागू नहुने जनाइएको छ।

सम्झौताअन्तर्गत थप विशेष व्यवस्थासमेत गरिएको छ। सम्झौताको अवधिभित्र पहिलो पटक अस्पतालमा आउने नयाँ बिरामीलाई २०८३ असार ३० गतेसम्म ५० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ।

अस्पतालले नेपाल सरकारद्वारा सञ्चालित स्वास्थ्य बीमा, सामाजिक सुरक्षा, जेष्ठ नागरिक तथा विपन्न नागरिक लक्षित योजनाहरूको सुविधा पूर्ण रूपमा उपयोग गरिसकेपछि मात्र यो सम्झौताअन्तर्गतको छुट लागू हुने जनाएको छ।

छुट सुविधा प्राप्त गर्न बिरामीले अस्पताल आउँदा नागरिकता वा परिचयपत्रको प्रतिलिपि अनिवार्य रूपमा पेश गर्नुपर्नेछ। १६ वर्षमुनिका बालबालिकाका हकमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि आवश्यक पर्ने बताइएको छ।

सम्झौता २०८३ जेठ २८ गतेदेखि २०८३ चैत ३० गतेसम्म लागू रहनेछ। साथै दुवै पक्षले प्रत्येक ६ महिनामा सम्झौताको समीक्षा गरी आवश्यक परिमार्जन गर्न सक्ने व्यवस्था समेत गरिएको छ।

यस सम्झौताले भोटेकोशी गाउँपालिकाका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच पुर्‍याउने र उपचार खर्चमा राहत मिल्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८३, २८ जेष्ठ बिहिबार ००:००  ६ : ४२ बजे