२०८२, ५ चैत्र बिहीबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सहिद माथेमाप्रति श्रद्धाञ्जली अर्पण



सहिद सप्ताहअन्तर्गत सहिद धर्मभक्त माथेमाप्रति आज भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ । काठमाडौँ महानगरपालिकाको समन्वयमा सहिद माथेमाले अमरत्व प्राप्त गर्नुभएको सिफलमा आयोजित श्रद्धाञ्जलीसभामा उहाँको सालिकमा पुष्पगुच्छा चढाएर श्रद्धाञ्जली अर्पण गरिएको हो ।

काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले सहिदले देखाएका निष्ठा र त्यागको आदर्श अनुकरणीय रहेकाले त्यसलाई सबैले अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो ।

वरिष्ठ शिक्षाविद् केदारभक्त माथेमाले मुलुकमा प्रजातान्त्रिक पद्दति विकास गर्न सहिद माथेमाले गरेको जीवनको त्याग नयाँपुस्ताका लागि प्रेरणादायी भएको बताउँदै जनतालाई सुखी र समृद्ध बनाउन सकेमा मात्र सहिदको सपना पूरा हुने उल्लेख गर्नुभयो । 

काठमाडौँ महानगरपालिकाका–७ का वडाध्यक्ष विमल हौडाले देशमा जनताका अधिकारलाई स्थापित गरी मुलुकलाई लोकतान्त्रिक शासन प्रणालीबाट सञ्चालन गर्न सकेमा सहिदको आत्माले शान्ति पाउने विचार व्यक्त गर्दै सहिद माथेमाको नामबाट सामाजिक संस्था स्थापना गर्न सरकारलाई आग्रह गर्नुभयो ।

राणा शासकले तत्कालीन व्यवस्थाविरुद्ध विभिन्न राजनीतिक गतिविधि सञ्चालन गरेको अभियोगमा माथेमालाई विसं १९९७ माघ १३ गते सिफलमा मृत्युदण्ड दिइएको थियो ।

श्रद्धाञ्जलीसभामा महानगरपालिकाका कर्मचारी, माथेमा समाज गुठीका प्रतिनिधि, स्थानीयवासी, समाजसेवी, शिक्षाविद्लगायतको सहभागिता थियो ।

प्रकाशित मिति : २०८१, १३ माघ आइतबार ००:००  १ : ०२ बजे