
काठमाडौं । नेपालमा बुधबार थप ६८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा ११ हजार ५ सय २२ जनाको पीसीआर परीक्षण गर्दा ६८१ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । जसमध्ये काठमाडौं उपत्यकामा १३७, ललितपुरमा १७ जना र भक्तपुरमा ८ जना रहेका छन् । यो सँगै कुल संक्रमितको संख्या २८ हजार ९ सय ३८ पुगेको छ ।
यस्तै थप १२० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । योसहित उपचार पछि निको हुनेको संख्या १७ हजार ७ सय पुगेको छ । हाल देशभर ११ हजार ११८ जना सक्रिय संक्रमित रहेको प्रवक्ता गौतमले बताए । देशभर १३ हजार ५ सय ७१ जना क्वारेन्टाइनमा छन् ।
पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । काठमाडौं र बर्दियामा एक/एक जना पुरुष, मोरङ, भक्तपुर, चितवन र सुनसरीका एक/एक जना महिलाको मृत्यु भएको गौतमले जानकारी दिए ।
योसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १२० पुगेको छ ।











