२०८२, १ पुस मंगलबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘अध्यादेशको ‘कन्टेन्ट’लाई लिएर विरोध नगरौँ’



नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले अध्यादेशको विरोध गर्नुपर्ने कुनै कारण नरहेको बताउनुभएको छ । राष्ट्रिय समाचार समितिको ६४औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित ‘संसद्को प्रभावकारी रिपोर्टिङका सन्दर्भमा राससको भूमिका’ विषयक अन्तरसंवाद कार्यक्रममा उहाँले अध्यादेशको ‘कन्टेन्ट’लाई लिएर कसैले पनि विरोध गर्न नपर्ने धारणा व्यक्त गर्नुभयो ।

“आर्थिक विकास, लगानी प्रोत्साहन, सुशासनलाई गति दिन एवं भूमिहीन तथा अव्यवस्थित बसोबासको समस्या समाधान गर्न अध्यादेश आएको हो”, कांग्रेसका प्रमुख सचेतक घिमिरेले भन्नुभयो । उहाँले सदनमा प्रतिनिधित्व गर्ने सम्पूर्ण राजनीतिक दल र आमजनताको बढीभन्दा बढी समर्थनमा संविधान संशोधन गरिने स्पष्ट पार्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का मुख्य सचेतक महेशकुमार बर्तौलाले संसद्लाई रचनात्मक बहस गर्ने थलोका रुपमा आफूहरुले अघि बढाउन चाहेको उल्लेख गर्दै विधेयक र राष्ट्रिय नीति निर्माणमा सत्ता र प्रतिपक्ष एकै ठाउँमा उभिएर समान धारणा बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले संविधानको मेरुदण्डका रुपमा रहेको सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशी र सामाजिक न्यायलाई थप बलियो बनाउने गरी संविधान संशोधन हुने विश्वास दिलाउनुभयो ।

वर्तमान सरकारले अघि बढाएको सामाजिक सञ्जाल विधेयकले सामाजिक सञ्जाललाई नियन्त्रण नभई व्यवस्थित गर्ने दाबी गर्नुभयो । “कसैलाई प्रतिबन्ध गर्न होइन, वाक स्वतन्त्रता कुन्ठित गर्न होइन, सामाजिक सञ्जाललाई सुरक्षित, व्यवस्थित, मर्यादित र नियमन गर्न हो, नियन्त्रण गर्न होइन”, उहाँले भन्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले सात प्रदेश र सात सय ७३ स्थानीय सरकारलाई समेत जोड्ने गरी समाचार सङ्कलन तथा सम्पादनसम्बन्धी कार्ययोजना बनाउन सुझाव दिनुभयो ।

प्रकाशित मिति : २०८१, ३० माघ बुधबार ००:००  ४ : ३७ बजे