
काठमाडौं । नारीहरुको हरितालिका तीज बिहीबारबाट सुरु भएको छ । भाद्रशुक्ल द्धितियादेखि पन्चमीसम्म मनाउने हरितालिका तीजको पहिलो तीन आज दर खाइँदै छ । तीजको निराहार व्रत बस्न शक्ति प्राप्तिका लागि एकदिन अघि दर खाने परम्परा छ ।
तीजको दिन निराहार ब्रत बस्ने भएकाले त्यसको आडका लागि अघिल्लो साँझ पौष्टिक तत्व भएका खानेकुरा खाने प्रचलन रहेको छ । दरखाने समय र स्थान भने ठाउँ अनुसार फरक–फरक रहेको छ । कतै साँझमा अन्य चीज नखाई दर खाने प्रचलन छ भने कतिपय स्थानमा पहिला खाना खाएर मध्यरातमा दर खाने गरिन्छ ।
परापूर्वकालमा देवी पार्वतीले भगवान शिवलाई पाउँ भनि निराहार व्रत बसेको र कामना पूरा भएको विश्वासका साथ अविवाहिताले राम्रो वर पाउन र विवाहिताले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै तीज पर्व मनाउने चलन छ ।
यस वर्ष कोरोना भाइरस संक्रमणको जोखिमका कारण सामूहिक दर खाने र तीज मनाउन भने सरकारले रोक लगाएको छ । देशैभर कोरोना संक्रमणको दर उच्च रुपमा बढेकाले चाडपर्व मनाउँदा भीडभाड नगरी घरमै सुरक्षित तरिकाले मनाउन आग्रह गरिएको छ ।











