सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४, हिन्दीमा बोलेरो गाडी भोटेकोशी नदीमा खस्दा दुई जना बेपत्ता भएका छन्।
तातोपानीबाट बाह्रबिसे तर्फ आउँदै गरेको बा २१ च ७५४४ नम्बरको बोलेरो सडकबाट अनियन्त्रित भई नदीमा खसेको हो। दुर्घटनामा परेका चालक सर्लाही, बरथहवा नगरपालिका–२ का २३ वर्षीय राजेश कुमार कुसवाहा र सहचालक २५ वर्षीय राम प्रवेश महतो बेपत्ता भएको इलाका प्रहरी कार्यालय कोदारीका प्रमुख प्रहरी निरीक्षक जगतबहादुर राईले जानकारी दिए।
प्रहरीका अनुसार उनीहरूलाई भोटेकोशी नदीले बगाएको हो। दुर्घटनापछि स्काभेटरको सहयोगमा बोलेरो तान्ने क्रममा एक पुरुषको शव नदीले फेरि बगाएको र अर्को शव पहिले नै बगेको हुन सक्ने अनुमान गरिएको छ।
भोटेकोशीले बगाएका व्यक्तिहरुको खोजी कार्यमा प्रहरी चौकी हिन्दी र इलाका प्रहरी कार्यालय बाह्रबिसे जुटिरहेको प्रहरीले जनाएको छ।











