खोटाङ जिल्लाको केपिलासगढी गाउँपालिकाको फेदी स्वास्थ्य चौकीलाई बहुउद्देश्यीय सामुदायिक विकास सेवा, ललितपुरको तर्फबाट स्वास्थ्य सेवा प्रवर्द्धनका लागि आवश्यक विभिन्न उपकरणहरू प्रदान गरिएको छ। सहयोग अन्तर्गत बेबी वार्मर, क्यास कार्ट ट्रली, ह्वील चेयर, पेरी लाइट, स्टेनलेस फोल्डिङ स्क्रिन तथा ड्रेसिङ ट्रली हस्तान्तरण गरिएको हो।

यसैगरी, पत्करु आधारभूत विद्यालय, फेदीलाई पनि बहुउद्देश्यीय सामुदायिक विकास सेवा, ललितपुरको तर्फबाट सोलार प्यानल र ब्याट्री सहयोगस्वरूप उपलब्ध गराइएको छ। विद्युत् सुविधाको अभावका कारण पठनपाठनमा देखिएको समस्या समाधानमा यस सहयोगले महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

त्यस्तै, पत्करु बप्तिस मण्डलीको पहलमा विद्यालयका सम्पूर्ण विद्यार्थी तथा शिक्षकहरूलाई न्यानो स्वेटर र टोपी वितरण गरिएको छ। जाडो मौसममा विद्यार्थीहरूको स्वास्थ्य र नियमित अध्ययनमा सहयोग पुग्ने विश्वास गरिएको छ।
गाउँपालिका अध्यक्ष समिर राई ,स्थानीयवासी तथा सम्बन्धित निकायले स्वास्थ्य र शिक्षाजस्ता आधारभूत क्षेत्रमा गरिएको सहयोगप्रति सहयोगी संस्थाहरूलाई धन्यवाद दिएका छन् ।












