२०८२, ४ पुस शुक्रबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बझाङबाट प्रतिनिधि सभाका लागि सिफारिसमा परेका युवा नेता नारायण प्रसाद हमाल को हुन ?



आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस बझाङले युवा नेता नारायण प्रसाद हमालको नाम सिफारिस गरेको छ। जयपृथ्वी नगरपालिका वडा नम्बर ११ निवासी हमाल यसअघि पनि पटक–पटक पार्टीको सिफारिसमा पर्दै आएका अनुभवी र सक्रिय नेता हुन्।

पार्टीप्रति निरन्तर निष्ठा, संगठन विस्तारमा दिएको योगदान तथा नागरिकप्रतिको चासो र प्रतिबद्धताका कारण हमाल हालसम्म पाँच पटक नेपाली कांग्रेस बझाङको प्रतिनिधि सभा सदस्य सिफारिस सूचीमा पर्न सफल भएका छन्। यसपटक पनि उनी सात जनाको सिफारिस सूचीभित्र अटाएका छन्।

विद्यार्थी जीवनकालदेखि नै देश र समाजका पक्षमा आवाज उठाउँदै राजनीतिमा सक्रिय रहेका हमालले २०५८ सालमा सत्यवादी माध्यमिक विद्यालयमा नेविसंघ इकाइ सचिवको जिम्मेवारी सम्हाल्दै औपचारिक राजनीतिक यात्रा सुरु गरेका थिए। त्यसपछि २०६१ सालमा इकाइ सभापतिको जिम्मेवारी निर्वाह गर्दै संगठन निर्माणमा योगदान पुर्‍याएका थिए।

सानैदेखि राजनीतिमा गहिरो चासो राख्ने हमाल समाजमा देखिएका समस्या, जनताको दुःख–सुखमा सहभागी हुँदै जनस्तरमा निरन्तर सक्रिय रहँदै आएका छन्। २०६२ सालमा उनले नेविसंघ बझाङको जिल्ला सचिवको जिम्मेवारी सम्हालेका थिए भने २०७३ सालमा नेविसंघ केन्द्रीय सहमहामन्त्री पदका लागि उम्मेदवार बनेर प्रतिस्पर्धा गरेका थिए। उक्त प्रतिस्पर्धामा उनी झिनो मतान्तरले पराजित भए पनि केन्द्रीय राजनीतिमा उनको पहिचान स्थापित भएको थियो।

त्यसैगरी २०६८ सालमा बझाङ जिल्लाको क्षेत्रीय जिम्मेवारी सम्हालेका हमालले नगर विकास समितिको अध्यक्षको रूपमा दुई वर्षसम्म नेतृत्व गर्दै स्थानीय विकास, पूर्वाधार र सेवाप्रवाह सुधारमा उल्लेखनीय भूमिका खेलेका थिए। गाउँ–नगरको समग्र विकास, युवा सहभागिता र समावेशी नेतृत्व उनको राजनीतिक प्राथमिकतामा पर्दै आएको छ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापा र निवर्तमान स्वास्थ्य तथा जनसंख्या मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय समिति सदस्य प्रदीप पौडेल निकट मानिने हमाल युवा पुस्ताको भावना, जेन–जी पुस्ताका माग र आवाजलाई संस्थागत रूपमा उठाउँदै आएका नेता हुन्। युवाको रोजगारी, शिक्षा, उद्यमशीलता र स्थानीय अवसर सृजनामा उनले निरन्तर आवाज उठाउँदै आएका छन्। युवाको आवश्यकता र अपेक्षालाई मध्यनजर गर्दै नीतिगत तथा व्यवहारिक काम गर्नुपर्ने उनको स्पष्ट धारणा छ।

आगामी प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेस बझाङले सात जनाको नाम सिफारिस गरेको छ। सिफारिस सूचीमा नारायण प्रसाद हमालसँगै अभिषेक बहादुर सिंह, नरेश बहादुर सिंह, सत्यराज भण्डारी, सुरेश मल्ल, जगत प्रसाद जोशी, प्रकाश स्नेही, केशव राज जोशी र दिपेन्द्र जोशी रहेका छन्।

पार्टी संगठन, विद्यार्थी राजनीतिदेखि स्थानीय विकास र जनसरोकारका विषयमा निरन्तर सक्रिय रहँदै आएका नारायण प्रसाद हमाललाई बझाङमा सामाजिक–राजनीतिक रूपमा प्रभावशाली र भरोसायोग्य युवा नेताका रूपमा हेरिने गरिएको छ। उनका समर्थकहरू यसपटक पार्टीले युवा नेतृत्वलाई अवसर दिने विश्वासमा छन्।

प्रकाशित मिति : २०८२, ४ पुस शुक्रबार ००:००  ११ : ४२ बजे