नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा विशेष महाधिवेशन पक्षधर हस्ताक्षरकर्ता शंकर तिवारीले पार्टी केन्द्रलाई तत्काल विशेष महाधिवेशनका लागि मार्ग प्रशस्त गर्न माग गरेका छन्। आइतबार जारी गरिएको प्रेस नोटमार्फत उनले तोकिएको समयमै नियमित महाधिवेशन हुने कुनै आधार नदेखिएको भन्दै पार्टी नेतृत्वको ढिलोढाला प्रवृत्तिप्रति कडा आपत्ति जनाएका हुन्।
भाद्र २३ र २४ को घटनापछि नेपाली कांग्रेसको ४९ दिन लामो केन्द्रीय कार्यसमितिको बैठकले पुष २६–२८, २०८२ मा केन्द्रीय महाधिवेशन गर्ने मिति तय गरेको थियो। तर पुस ११ सम्मका गतिविधि हेर्दा नियमित महाधिवेशन हुने संकेत नदेखिएको र पार्टी प्रवक्ताबाट समेत तोकिएको अवधिमा अधिवेशन हुन नसक्ने संकेत आएको तिवारीको दाबी छ।
उनले पार्टी नेतृत्वको यस्तो प्रवृत्तिलाई पार्टीभित्र परिवर्तनको आवाज उठाएका बहुसंख्यक महाधिवेशन प्रतिनिधिहरूप्रतिको अपमानको रूपमा व्याख्या गरेका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेका कार्यकर्ताहरूले पार्टीलाई यथास्थितिमा राख्ने प्रयास स्वीकार गर्न नसक्ने भन्दै उनले नियमित अधिवेशनको कार्यतालिका विशेष महाधिवेशनको आवाज दबाउनका लागि बनाइएको ‘तिकडम’ मात्र भएको आरोप लगाए।
प्रेस नोटमा तिवारीले विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेका कार्यकर्ताहरूलाई केन्द्रीय कार्यालय घेर्न काठमाडौं आउन आह्वानसमेत गरेका छन्। पार्टीलाई स्वाधीन, अधावधिक र आन्तरिक रूपमा लोकतान्त्रिक बनाउन सत्याग्रह आवश्यक भएको उनको भनाइ छ। भाद्र २३ र २४ का घटनापछि पार्टी बदलिएको सन्देश दिन निर्वाचनभन्दा अघि नै पार्टीभित्र सुधार अनिवार्य भएको उनले उल्लेख गरेका छन्।
उनले पार्टीको गतिरोधका लागि सिङ्गो केन्द्रीय कार्यसमिति जिम्मेवार रहेको आरोप लगाउँदै पार्टी विधानभन्दा माथि कोही नभएको स्पष्ट पारेका छन्। पार्टी विधानको दफा १७.२ को पालना गर्न पार्टी केन्द्रलाई आग्रह गर्दै, यदि विधानको अनुशासन नमाने विशेष महाधिवेशनका हस्ताक्षरकर्ताहरूले आफैं निर्णय गर्न बाध्य हुने चेतावनी दिएका छन्।
“पार्टी अनुशासनको नाममा पार्टीलाई बन्धक बनाउने छुट कसैलाई छैन,” तिवारीले भनेका छन्। अन्त्यमा उनले नेपाली कांग्रेस केन्द्रलाई तत्काल विशेष महाधिवेशनका लागि मार्ग प्रशस्त गर्न पुनः जोडदार माग गर्दै “अब अति भयो, इनफ इज इनफ” भन्दै प्रेस नोट टुंग्याएका छन्।











