नेपाली कांग्रेसको विशेष महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा आजबाट सुरु भएको छ। पार्टीका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा, निवर्तमान पूर्व मन्त्रीहरू, स्थानीय तहका जनप्रतिनिधि, नेता–कार्यकर्ता तथा हजारौँ समर्थकको उपस्थितिमा महाधिवेशन सुरु भएको हो।

पार्टीभित्रको आन्तरिक विवादका बीच आयोजना गरिएको यो विशेष महाधिवेशनलाई चासोका साथ हेरिएको छ। यद्यपि, सहभागीको ठूलो संख्या हुँदाहुँदै पनि कार्यक्रम शान्त, अनुशासित र व्यवस्थित रूपमा सञ्चालन भएको छ।
महाधिवेशनको उद्घाटन सत्र विभिन्न सांस्कृतिक कार्यक्रमसहित सुरु गरिएको हो। महाधिवेशन मञ्चमा कुर्सीको सट्टा कुसन राखिएको दृश्य देखिएको छ, भने दर्शकदीर्घामा महाधिवेशन प्रतिनिधि तथा नेता–कार्यकर्ताका लागि कुर्सीको व्यवस्था गरिएको छ।

महाधिवेशनअघि आयोजित र्यालीमा सहभागी नेता तथा कार्यकर्ताहरूले पार्टीभित्र नेतृत्व परिवर्तन हुनुपर्ने माग उठाएका छन्।
तीन महिनाअघि माग गरिएको विशेष महाधिवेशनलाई पार्टी संस्थापन पक्षले बेवास्ता गरेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको पहलमा विशेष महाधिवेशन आह्वान गरिएको हो।
उद्घाटन सत्र पार्टीका काठमाडौँ जिल्ला सभापति सबुजकृष्ण बानियाँको सभापतित्वमा भइरहेको छ। विशेष महाधिवेशन भोलिसम्म सञ्चालन हुने कार्यक्रम रहेको छ।











