२०८२, १७ माघ शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वतन्त्र उमेदवारले कसरी पाउँछन् निर्वाचन चिह्न ?



प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ अन्तर्गत निर्वाचन आयोगले भालि उमेदवारलाई निर्वाचन चिह्न प्रदान गर्दै छ । फागुन २१ गते हुने निर्वाचनका लागि दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उमेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने आयोगले बताएको छ । 

उमेदवारको अन्तिम नामावलीमा एउटा निर्वाचन क्षेत्रमा एकभन्दा बढी संख्यामा उमेदवार कायम भएमा निर्वाचन अधिकृतले प्रत्येक उमेदवारलाई निर्वाचन चिह्न प्रदान गर्नुपर्छ । 

आयोगका अनुसार निर्वाचनका लागि दललाई अनुसूची–३० बमोजिम र स्वतन्त्र उमेदवारलाई अनुसूची–३१ बमोजिम निर्वाचन चिह्न गरिन्छ । 

निर्वाचन अधिकृतले दलको उमेदवारलाई निर्वाचन चिह्न प्रदान गर्दा त्यस्तो दलको लागि निर्धारण गरिएको चिह्न प्रदान गर्नुपर्छ । 

आयोगले कुनै उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरी सकेपछि त्यस्तो उमेदवारले आफ्नो दल त्याग गरेमा वा अर्को दलमा प्रवेश गरेमा उसलाई प्रदान गरिएको निर्वाचन चिह्न परिवर्तन हुँदैन । त्यस्तो उमेदवार निर्वाचित भएमा सम्बन्धित दलले प्रमाणसहित आयोगमा उजुरी दिएमा उसको सदस्यता खारेज हुने आयोगले प्रष्ट पारेको छ । 

निर्वाचन अधिकृतले स्वतन्त्र उमेदवारलाई निर्वाचन चिह्न प्रदान गर्दा स्वतन्त्र उमेदवारले प्रयोग गर्ने गरी निर्धारण गरेका निर्वाचन चिह्नको समूहबाट प्रदान गर्नुपर्छ । 

“स्वतन्त्र उमेदवारलाई निर्वाचन चिह्न प्रदान गर्दा निर्वाचन अधिकृतले त्यस्तो उमेदवार वा उसको प्रतिनिधिलाई निर्वाचन चिह्न रोज्न लगाई उनीहरूको रोहबरमा निर्वाचन चिह्न प्रदान गर्नुपर्छ,” आयोगले भनेको छ, “तर, निर्वाचन चिह्न प्रदान गर्दा कुनै उमेदवार वा  उसको प्रतिनिधि उपस्थित नभएमा उपस्थित उमेदवार वा उसको प्रतिनिधिले रोजेर बाँकी रहेको निर्वाचन चिह्नबाट निर्वाचन अधिकृतले निर्वाचन चिह्न प्रदान गर्छन् ।” 

स्वतन्त्र उमेदवारलाई निर्वाचन चिह्न रोज्न लगाउँदा एकभन्दा बढी उमेदवारले एउटै निर्वाचन चिह्न रोजेमा त्यस्तो उमेदवारको नामको नेपाली वर्णानुक्रमको आधारमा प्राथमिकता दिई आयोगले निर्वाचन चिह्न प्रदान गर्छ । 

कुनै दलले निर्वाचनमा उमेदवार मनोनीत नगरेको अवस्थामा समेत सो दललाई प्रदान गरिएको निर्वाचन चिह्न अन्य उमेदवारलाई प्रदान नगरिने आयोगले प्रष्ट पारेको छ । 

उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिसकेपछि निर्वाचन अधिकृतले एकीकृत निर्वाचन व्यवस्थापन सूचना प्रणालीमा प्रविष्ट गर्ने र त्यसमा कुनै फेरबदल नहुने आयोगले जनाएको छ ।

प्रकाशित मिति : २०८२, ९ माघ बिहीबार ००:००  १० : ४६ बजे