पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले बुधबार (माघ १४) देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भयो । पश्चिम नेपालका कतिपय स्थानमा मंगलबार (माघ १३) बेलुकादेखि नै वर्षा र हिमपात सुरु भएको थियो । पानी पार्ने उक्त प्रणाली बुधबार बेलुकादेखि नै देशबाट बाहिरिइसकेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
पश्चिमी वायु फेरि सक्रिय भएर आउँदो सोमबार (माघ १९)देखि पानी पर्ने मौसमविद्ले बताएका छन् । त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक विनोद पोखरेलले पानी पार्ने अर्को प्रणाली सोमबारदेखि नेपाल भित्रने जनाएका छन् ।
“हिजो पश्चिमी वायुले आधाभन्दा धेरै नेपालमा हल्कादेखि मध्यम वर्षा गरायो र यो पूर्वानुमानसँग ठ्याक्कै मिलेको जस्तो छ,” उनले बिहीबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, “अब आर्को प्रणाली फेरि सोमबारदेखि आउँदै छ, जसले यस्तै खालको वर्षा गराउने देखिन्छ ।”
पश्चिम नेपालमा मंगलबार र बुधबार परेको पानी यो वर्ष हिउँदयामको दोस्रो वर्षा हो । काठमाडौंसहित पूर्वतिरका कतिपय स्थानमा भने बुधबार हिउँदको पहिलो वर्षा भएको विभागले जनाएको छ ।
बिहीबार (माघ १५) बिहान देशका अधिकांश भागमा हुस्सु लागेको जलवायुविज्ञ धर्मराज उप्रेतीले उल्लेख गरेका छन् । “दुई दिनसम्म चिसो र बिहानीपखको हुस्सुको सामना गर्नु नै छ,” उनले सामाजिक सञ्जालमा लेखेका छन् ।











