२०८२, २० माघ सोमबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रपति पौडेल जापानमा



चारदिने औपचारिक भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल सोमबार जापान पुगेका छन् । उनलाई त्यहाँस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापानको विदेश मन्त्रालयका प्रमुख शिष्टाचार महापाल, नेपालका निम्ति जापानका राजदूत तोरु मायदा र जापानका लागि नेपालका कार्यवाहक राजदूत हरिहरकान्त पौडेललगायतले स्वागत गरे ।

जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी आइतबार राति त्यसतर्फ प्रस्थान गरेका थिए । राष्ट्रपति पौडेल नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा त्यहाँ आयोजना गरिने विशेष समारोहमा सहभागी हुने राष्ट्रपतिका प्रेस सल्लाहकार  किरण पोखरेलले जानकारी दिए ।

उनका अनुसार, टोकियोस्थित इम्पेरियल प्यालेसमा राष्ट्रपति पौडेलले जापानका सम्राट् नारुहितोसँग राजकीय शिष्टाचार भेटवार्ता गर्नेछन् ।

साथै, राष्ट्रपतिसँग जापानका प्रधानमन्त्री ताकाइची सानाए र विदेश राज्यमन्त्री होरिइ इवाओले शिष्टाचार भेटवार्ता गर्नेछन् ।

प्रेस सल्लाहकार पोखरेलका अनुसार, राष्ट्रपति पौडेल भ्रमणका क्रममा जापानी व्यावसायिक समुदायसँग र जापानस्थित नेपाली राजदूतावासले उनको सम्मानमा आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन् ।

नेपाल–जापानबीच सन् १९५६ सेप्टेम्बर १ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । कूटनीतिक सम्बन्ध स्थापनापछि नेपालले १९६५ मा टोकियोमा र जापानले १९६७ मा काठमाडौंमा आफ्नो दूतावास स्थापना गरेको थियो ।

राष्ट्रपति चारदिने भ्रमण सम्पन्न गरी यही माघ २१ गते स्वदेश फर्कने कार्यक्रम छ ।

प्रकाशित मिति : २०८२, २० माघ सोमबार ००:००  १० : ०६ बजे