२०८२, २२ माघ बुधबार | Wed Feb 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओखलढुंगामा चारपक्षीय प्रतिस्पर्धा, किल्ला जोगाउने र खोस्ने कसरत !



नेपाली कांग्रेसको बलियो पकड मानिने जिल्ला ओखलढुंगा यतिखेर प्रतिनिधिसभा सदस्य चुनाव हुँदै गर्दा बहुपक्षीय राजनीतिक प्रतिस्पर्धाको केन्द्र बन्न पुगेको छ । कांग्रेसका लागि किल्ला जोगाउनु चुनौति छ भने एमाले, नवगठित नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीका लागि विरासत खोस्ने अवसर ।

विगत निर्वाचनका उतारचढाव, गठबन्धनको पुनर्संरचना र नयाँ दलको उदयले ओखलढुंगामा राम्रै प्रतिस्पर्धा हुने देखिन्छ । यो जिल्ला २०४८ देखि ०७० सम्म दुईवटा निर्वाचन क्षेत्रमा विभाजित थियो । तर, २०७४ यता एक निर्वाचन क्षेत्र बनेको छ ।

२०४८, २०५१, २०५६ मा दुवै क्षेत्रमा पकड जमाएको कांग्रेस ०६४ सालको माओवादी प्रभाव रोक्न नसक्दा दुवै क्षेत्र गुमायो । २०७० मा एउटा क्षेत्र फिर्ता गर्न सफल भयो, तर अर्को क्षेत्रमा पहिलो चोटि एमाले प्रवेश गरेको थियो ।

२०७४ मा वाम गठबन्धन बनेसँगै कांग्रेस किल्ला भत्काउँदै एमालेका यज्ञराज सुनुवार प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । २०७९ मा कांग्रेसले आफ्नो विरासत फर्काउँदै रामहरि खतिवडालाई सांसद बनायो ।

आउँदो निर्वाचनमा कांग्रेसले नयाँ अनुहार प्रतिस्पर्धामा उतारेको छ । कांग्रेसबाट कुमार लुइँटेल मैदानमा खडा भएका छन् । कांग्रेस महामन्त्री प्रदीप पौडेलसँगै अस्कल क्याम्पसमा विद्यार्थी राजनीति गरेका लुइँटेल एमएस्सीपछि द्वन्द्व व्यवस्थापनमा स्नातकोत्तर गरी सामाजिक क्षेत्रमा सक्रिय रहे ।

उनी कोसी प्रदेश समितिमा सदस्य हुन् । उनी कांग्रेस सभापति गगन थापा र प्रदीप पौडेलका विद्यार्थी राजनीतिका दौतेरी र सहपाठी हुन् । उता एमालेले अस्मिता थापालाई प्रतिस्पर्धामा उतारेको छ । उनी लिखु गाउँपालिकाको उपाध्यक्ष पदबाट राजीनामा दिएर प्रतिनिधिसभा निर्वाचनमा होमिएकी हुन् ।

उनी एमालेको ११औं महाधिवेशनबाट केन्द्रीय सदस्य बनेकी थिइन् । नेपाली कम्युनिष्ट पार्टी ९नेकपा० बाट कोसी प्रदेशका पूर्वसांसद अम्बिर बाबु गुरुङ चुनावी मैदानमा छन् । यता राष्ट्रिय स्वतन्त्र पार्टीले नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेललाई उमेदवार बनाएको छ ।

पोखरेल चुनावी पूर्वसन्ध्यामा रास्वपा प्रवेश गरेका हुन् । उनी पार्टी प्रवेश गर्दा नै उमेदवारी सुनिश्चित थियो, पार्टी प्रवेशसँगै उनी घरदैलोमा व्यस्त छन् । तर, उनको उमेदवारीमा असहमति राख्दै राष्ट्रिय स्वतन्त्र पार्टीका ओखलढुंगाका संस्थापन संयोजक विक्रम दाहाल बागी बनेका छन् ।

त्यसबाहेक राप्रपाबाट डिकप्रसाद बास्तोला, नेमकिपाबाट सविना प्रजापति, राजमोबाट शेरबहादुर खत्री, मंगोल नेशनल अर्गनाइजेशनबाट बजेन्द्र राई, श्रम संस्कृति पार्टीबाट उद्धवकुमार राई, मितेरी नेपाल पार्टीबाट कुमारबहादुर लामा, उज्यालो नेपाल पार्टीबाट नेत्रबहादुर नेम्बाङ, समावेशी समाजवादी पार्टीबाट पिंकी (बेगुराम) राई उमेदवार छन् । नारायणकाजी तामाङले स्वतन्त्र उमेदवारी दर्ता गरेका छन् ।

दुई स्वतन्त्रसहित १५ उमेदवार रहेको ओखलढुंगामा चार पक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । २०४८ यताका प्रमुख शक्ति कांग्रेसलाई २०७४ मा हराएको एमाले आफ्नो विरासत फर्काउने दौडमा छ । माओवादी–समाजवादी मिलेर बनेको नेकपा ०६४ को माओवादी साख फर्काएर जिल्लामा झन्डा फहराउने कसरतमा छ ।

कांग्रेसले ओखलढुंगालाई आफ्नो किल्ला मान्दै त्यो जोगाउने कसरतमा छ । २०६४ मा दुवै क्षेत्र जितेको माओवादी त्यसयता प्रभावशाली रूपमा फर्कन सकेको छैन ।

२०७० मा पहिलोचोटि एक क्षेत्र जितेको एमाले ०७४ मा वाम गठबन्धनको बलमा एकल प्रतिनिधित्व गर्न सफल भएको थियो । एमालेका जिल्ला कार्यसमिति नै नेपाली कम्युनिष्ट पार्टी प्रवेश गरेका छन् । तर, कार्यकर्ताको मत जोगाउँदै जनताको आकर्षण बढाएर जित निकाल्ने कसरतमा छ ।

यस्तो थियो विगत

२०४८ सालमा दुई निर्वाचन क्षेत्र हुँदा कांग्रेसका बालराज कार्की र बलबहादुर राईलाई निर्वाचित गरेको थियो, ओखलढुंगाले । २०५१ मा कांग्रेसकै चन्द्रकान्त दाहाल र बलबहादुर राईलाई निर्वाचित गरी प्रतिनिधिसभा पठाएको थियो ।

२०५१ सालमा कांग्रेसबाटै गोपाल राईले विद्रोही उमेदवारी दिँदा पनि दुवै क्षेत्र कांग्रेसले जितेको थियो । २०५६ को प्रतिनिधिसभा निर्वाचनमा क्षेत्र नम्बर–१ बाट होमनाथ दाहाल र २ बाट कांग्रेसकै गोपाल राई निर्वाचित भएका थिए ।

२०६४ मा भने १० वर्षे सशस्त्र युद्धबाट प्रतिस्पर्धात्मक राजनीतिमा आएको माओवादीको प्रभाव रोक्न कांग्रेस असफल भएको थियो । पहिलो संविधानसभामा ओखलढुंगा–१ बाट माओवादीका केशव राई र २ बाट बालकृष्ण ढुंगेल निर्वाचित भएका थिए ।

२०७० मा दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेस दुईमध्ये एक क्षेत्रमात्र फर्काउन सफल हुँदा क्षेत्र नम्बर–१ मा एमाले ‘इन्ट्री’ भएको हो । दोस्रो संविधानसभा निर्वाचनमा क्षेत्र नम्बर–१ मा एमालेका यज्ञराज सुनुवार निर्वाचित हुँदा क्षेत्र नम्बर–२ मा कांग्रेसका रामहरि खतिवडा निर्वाचित भएका थिए ।

२०७४ सालमा संविधानसभाबाट जारी भएको संविधान अनुसार १६५ क्षेत्र कायम हुने गरी निर्वाचन क्षेत्र निर्धारण आयोग बन्यो । उक्त आयोगले जनसंख्यालाई मूल आधार मान्दै ओखलढुंगा एक निर्वाचन क्षेत्रमा सीमित भयो ।
त्यसपछिको निर्वाचनमा वाम गठबन्धनका तर्फबाट एमाले उमेदवार यज्ञराज सुनुवार निर्वाचित भए ।

२०७९ मा कांग्रेस–माओवादी गठबन्धन भयो । आफ्नो विरासत फर्काउँदै रामहरि खतिवडा प्रतिनिधिसभा सदस्य निर्वाचित भए ।

प्रदेशतर्फ कांग्रेसका प्रदीपकुमार सुनुवार र माओवादीका बाबुराम गौतम निर्वाचित भए । २०६४ पछि फर्कन नपाएको माओवादी केन्द्र कांग्रेससँगको गठबन्धनबाट प्रदेशसभामा छ ।

माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका दल मिलेर नेपाली कम्युनिष्ट पार्टी बनेको छ । एमालेका पूर्व प्रदेशसभा सदस्य तथा प्रदेश मन्त्री अम्बिर बाबु गुरुङ नेकपाबाट उमेदवार बनेका छन् । त्यहीकारण नेकपा जित निकाल्ने कसरतमा छ ।

आफ्नो जित निरन्तर गर्न चाहेको कांग्रेसलाई एमाले, नेकपासँगै रास्वपाले चुनौती गर्दा चारपक्षीय प्रतिस्पर्धा देखिएको हो । ओखलढुंगामा एक नगरपालिका र सात गाउँपालिका छन् । त्यसमध्ये नगरपालिका र चार गाउँपालिका कांग्रेसले जितेको छ ।

एक पालिका माओवादीले, एक पालिका तत्कालीन नेकपा एकीकृत समाजवादीले र एक पालिका एमालेले जितेका छन् । त्यसमध्ये नेकपा एसले जितेको पालिका पनि एकतापछि नेकपाकै भएको छ ।

आठ पालिकाका ७५ वडामध्ये ४५ वडाध्यक्ष कांग्रेसले जितेको छ । जिल्ला समन्वय समितिमा गठबन्धन नगरी एक्लै नेतृत्व गरिरहेको कांग्रेस नयाँ परिस्थितिका कारण प्रतिनिधिसभा सदस्यमा आफ्नो जित सुनिश्चित गर्न मेहनत गरिरहेको छ ।

नयाँ दलको प्रभाव र परिवर्तित परिस्थितिमा मतदाताले गर्न सक्ने भोट परिवर्तनको प्रभाव रोक्न कांग्रेस, एमाले र नेकपासहित मेहनत गरिरहेका छन् । रास्वपा मत परिवर्तनको लहर चलाएर आफ्नो प्रभाव स्थापित गर्न सामाजिक सञ्जालको अधिक प्रयोग गर्दै छ ।

प्रकाशित मिति : २०८२, २२ माघ बुधबार ००:००  १० : २४ बजे