२०८२, १ चैत्र आइतबार | Sun Mar 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पश्चिममा पर्न थाल्यो पानी, काठमाडौंमा साँझतिर



देशका केही स्थानमा यति बेला (आइतबार बिहान साढे ९) पानी परिरहेको छ । पश्चिम नेपालका थोरै स्थानमा वर्षा भएको हो । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

जलवायुविज्ञ धर्मराज उप्रेतीले पनि पश्चिम वायुको प्रभाव सुदूरपश्चिम र लुम्बिनी प्रदेशका बाँके, बर्दियासम्म देखिन थालेको जनाएका छन् । “कञ्चनपुर – दोधाराचाँदनीदेखि वर्षा पनि हुन थालेको छ भने कतै बादल अनि आकाशमा बिजुली चम्किने आदि, कतै हावाको गति बढ्दै,” उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

यो प्रणाली बिस्तारै फैलिएर पूर्वी नेपालसम्म पुग्ने उनले उल्लेख गरेका छन् । “काठमाडौंलगायत पूर्वी भागमा अहिले घाम लागे पनि (दिउँसो) १–२ बजेपछि बादल लाग्ने र साँझसम्म वर्षाको सम्भावना छ,” उनले भनेका छन्, “यो प्रणाली मंगलबारसम्म सक्रिय हुने देखिन्छ ।”

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक विनोद पोखरेलले पनि आज (चैत १) देशका धेरै स्थानमा वर्षाको सम्भावना औँल्याएका छन् । “आज पनि नेपालको अधिकांश ठाउँमा (पहाडी र हिमाली भेगमा राम्रो सम्भावना) मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ,” उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

उनका अनुसार, सोमबार (चैत २)सम्म मौसम यस्तै रहने सम्भावना छ ।  “त्यसपछि तीन दिनसम्म मौसम अलि शान्त हुने देखिन्छ । तर, केही ठाउँमा अपराह्नमा एकछिन गड्याङगुडुङसहित वर्षा हुनसक्छ,” मौसमविद् पोखरेलले भनेका छन् ।

त्यसपछि आउँदो शुक्रबार (चैत ६)देखि पानी पार्ने अर्को प्रणाली भित्रने सम्भावना रहेको उनले उल्लेख गरेका छन् । त्यो प्रणालीको प्रभाव देशका सबै ठाउँमा पर्ने उनको भनाइ छ ।

आज काठमाडौंमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

प्रकाशित मिति : २०८२, १ चैत्र आइतबार ००:००  ११ : २७ बजे