२०८२, ६ चैत्र शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नवनिर्वाचित सांसदको शपथ चैत १२ गते



संघीय संसद् सचिवालयले प्रतिनिधि सभामा नवनिर्वाचित सदस्यहरूलाई आगामी चैत १२ गते हुने शपथ ग्रहण कार्यक्रममा दुई घण्टा अगावै आउन आग्रह गरेको छ।

आगामी बिहीबार दिउँसो २ बजे सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्षमा हुने शपथ ग्रहणका लागि औपचारिक पोसाक वा आफ्नो सांस्कृतिक पहिचान झल्किने राष्ट्रिय पोसाकमा १२ बजे नै आइपुग्न आग्रह गरेको हो।

संसद् सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेका अनुसार शपथका लागि निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधिसभासदस्य पदको प्रमाणपत्रको सक्कल र प्रतिलिपि, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि तथा हालसालै खिचिएको पासपोर्ट साइजको दुई प्रति फोटो अनिवार्य ल्याउन भनिएको छ।

नेपाली भाषाबाहेक आफ्नो मातृभाषामा शपथ लिन चाहने सदस्यहरूका लागि प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को अनुसूची–३ को ढाँचामा रहेको शपथको व्यहोरालाई सम्बन्धित भाषामा अनुवाद गरी सोको प्रति शपथ कार्यक्रमभन्दा तीन दिन अगावै सचिवालयमा बुझाउन समेत सुझाएको छ।

संसद् सचिवालयका अनुसार सिंहदरवारभित्र निर्माणाधीन नयाँ संसद् भवन अझै पूर्ण रूपमा तयार नभएकाले कार्यक्रम सञ्चालनका लागि अस्थायी हल निर्माण गरिएको छ। हाल हलमा माइक, बत्ती र अन्य आवश्यक व्यवस्था गर्नको लागि काम भइरहेको छ। पुरानो संसद् भवनमा जेनजी आन्दोलनका क्रममा आगलागी भएपछि वैकल्पिक आवश्यकता पुरा गर्न निर्माणाधीन बहुउद्देश्यीय हललाई अस्थायी रूपमा व्यवस्थापन गरेर प्रयोगमा ल्याउन लागिएको हो।

शपथ समारोह सहज र व्यवस्थित रूपमा सञ्चालन गर्न अस्थायी हलमा आवश्यक व्यवस्था मिलाइएको छ भने हलमा सांसदहरुको बसाइ, सुरक्षा, र प्राविधिक व्यवस्थाका साथै मिडिया कवरेजका लागि विशेष सुविधा सुनिश्चित गरिएको छ।

प्रकाशित मिति : २०८२, ६ चैत्र शुक्रबार ००:००  १० : ४८ बजे